कैलालीका पत्रकार आन्दोलित, र्यालीसहित प्रशासन अगाडि धर्ना
धनगढीस्थित दिनेश संञ्चार गृहमा प्रवेश गरेर पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै कैलालीका पत्रकार आन्दोलित बनेका छन् ।
पीडित पक्षले कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै किटानी जाहेरी दिएको दुई दिन वित्दा पनि प्रहरीले कसैलाई पनि पक्राउ नगरेको भन्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन्।
नेपाल पत्रकार महासंघ कैलाली शाखाको अगुवाईमा आज पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् । आन्दोलित पत्रकारहले धनगढीको पार्कमोडबाट जिल्ला प्रशासनसम्म र्याली निकाल्दै प्रशासन अगाडि धर्नासहित कोणसभा पनि गरे ।
लयसअघि शनिबार नै पत्रकार महासंघले घटना भएको दुई दिनसम्म अपराधी समात्न नसकेको भन्दै आजसम्म अपराधीलाई पक्राउ नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको थियो।
कोणसभालाई सम्बोधन गर्दै बरिष्ठ पत्रकार मनमोहन स्वाँर, महासंघका सुदूरपश्चिम अध्यक्ष अर्जुन शाह, कैलाली शाखाका अध्यक्ष जगत साउँद, पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य दिलबहादुर छत्याल, सामुदायिक रेडियो प्रसारक संघका प्रदेश अध्यक्ष दीर्घराज जोशी, नेपाल प्रेस युनियक कैलालीका अध्यक्ष श्रवण देउवालगायतले सम्बोधन गरेका थिए । वक्ताहरुले दोषीलाई तत्काल पक्राउ गर्नुपर्ने र यदि नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिए ।
शुक्रबार दिनेश संञ्चार गृहको कार्यालयमा पुगेका १५र२० जनाको समूहले गृहका सह–सम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए। समाचारको विषयलाई लिएर उनहरुले व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहलाई पनि हातपात तथा दुर्व्यवहार गरेका थिए।
२८ भदौ २०७७, आइतवार १७:२० बजे प्रकाशित































