बलात्कार मुद्दामा कैद तोकिएका व्यक्ति चार वर्षपछि पक्राउ
धनगढी, साउन २५ । जबरजस्ती करणी मुद्दामा ९ वर्ष कैद तोकिएका एक युवक चार वर्षपछि पक्राउ परेका छन्। कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ का २१ वर्षीय अर्जुन चौधरीलाई जिल्ला अदालतले चार वर्ष पहिले बलात्कार मुद्दामा ९ वर्षको कारागार सजाय तोकेको थियो।
कैद फैसला लगत्तै फरार भएका चौधरीलाई चार वर्षपछि पक्राउ गरी जिल्ला अदालतमा पेस गरेको कैलालीका सह–प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले बताए।
चौधरीले २०७३ भदौ १३ गते गौरीगंगाकै एक युवतीमाथि जबरजस्ती करणी गरेका थिए। जबरजस्ती करणीपछि गौरिगंगा नगरपालिका वडा नम्बर ३ को शिव नदीको किनार नर्सरी जङ्गलमा अर्धचेतन अवस्थामा शरीरमा घाउ नीलडाम भएको अवस्थामा युवतीको उद्धार गरिएको थियो।
०७२ साल भदौ १५ गते पक्राउ गरिएका चौधरीलाई जिल्ला अदालतले धरौटी तारेखमा रिहा गर्न आदेश दिएको थियो। २०७३ जेठ २७ गतेको फैसलाले उनलाई ९ वर्ष तीन महिना २९ दिन कैद र २५ हजार जरिवाना तोकेको थियो। उनी सोही दिनदेखि फरार रहेका थिए।
२५ साउन २०७७, आइतवार १०:५१ बजे प्रकाशित































