सामुदायिक वनको जमिनमा तारबार, कब्जा गर्ने दाउँ
धनगढी, असार ३१ । वैज्ञानिक वनका नाममा नियमविपरित जथाभावी रुख काटेर फडानी भइरहेको जनगुनासो बढिरहेका बेला कैलालीको कैलारी गाउँपालिकाका एक वडाध्यक्षले वनमाथिनै आँखा गाडेका छन् । जिल्लाको मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने जिल्लाको कैलारी गाउँपालिकाको वडा नम्बर ९ का वडाध्यक्ष खेमप्रसाद चौधरीले सामुदायिक वनको जमिन कब्जा गरेर तारबार लगाएका छन् ।
वडाध्यक्ष चौधरीले समाज सुधार सामुदायिक वनको झण्डै तीन विघा भन्दा बढी जमिनमा तारबार गरेर व्यक्तिगत संरचना निर्माण गर्नुका साथै विभिन्न विरुवाहरु रोपेका छन् । उक्त सामुदायिक वनको अध्यक्ष आफ्नो भतिजा रहेको फाइदा उठाउँदै वडाध्यक्ष खेमप्रसादले वनको जमिनलाई घेरबार गरेका हुन् । समाज सुधार सामुदायिक वनका अध्यक्ष रमेश चौधरी वडाध्यक्षका आफ्नै भतिजा हुन् ।
वनको जमिनमा तारबार गरेर वडाध्यक्ष खेमप्रसाद चौधरीले सिसौं, बाँसलगायतका विरुवा पनि रोपेका छन् । वन क्षेत्रमा व्यक्तिगत रुपमा निजी वा सरकारी संरचना निर्माण गर्न पाइँदैन । तर, वडाध्यक्षले भने तारबारनै गरेर संरचना निर्माण गर्नुका साथै बोटविरुवासमेत रोपेका छन् । यस विषयमा वडाध्यक्षसंग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । उनको आधिकारिक मोबाइल नम्बरमा केही दिनदेखि पटक–पटक सम्पर्क गर्न खोजिएपनि कुरा हुन सकेन ।
थारु बस्तीको बसोबास भएको त्यस क्षेत्रमा वडाध्यक्षको उक्त कामको विरोध भएपनि केही सीप चलेको छैन । शक्तिको आडमा वडाध्यक्षले आफै वनको जमिन कब्जा गर्न खोज्नुका साथै वन फडानीलाई पनि प्रसय दिएको स्थानीयको आरोप छ । गाउँमा दुई पक्षबीच वन संरक्षणका विषयमा विगतदेखि नै विवाद हुँदै आएको छ । उनीहरुकाअनुसार वडाध्यक्ष र वनका अध्यक्ष (काका–भतिजा) मिलेर वन फडानी गर्ने र वनमाथि नै कब्जा जमाउने काम भइरहेको छ ।
त्यस क्षेत्रको सामुदायिक वन हेर्ने जिम्मा पाएका सहायक वन अधिकृत निराजन कडालले वडाध्यक्षलगायतले वनमा तरबार गरेको र त्यसविरुद्ध वन कार्यालयमा उजुरी पनि आएको बताए । उनले यसबारे सम्बन्धित व्यक्तिसंग बुझेर हटाउन लगाएको बताए । ‘वडाध्यक्षलगायतका व्यक्तिहरुले वन क्षेत्रमा तारबार लगाएर निजी प्रयोजनमा वन प्रयोग गरेको भन्ने उजुरी आएका थिए,’ उनले भने, ‘हामीले त्यसबारे बुझेर हटाउन लगाएका छौं, उनीहरुले हटाउँछौं पनि भनेका छन् ।’
वन कार्यालयले उनीहरुलाई जेठमै तारबार हटाउन भनेपनि उनीहरुले अझै तारबार हटाएका छैनन् । सहायक वन अधिकृत कडालले तारबार हटाउन भन्दा पनि नमान्ने व्यक्तिविरुद्ध मुद्दा लगाउने बताएका छन् ।
हालैमात्र अवैध रुपले हरिया सालका गोलियाहरु कटानी गरिएका आरोपमा सो सामुदायिक वन उपोभोक्ता समूहका अध्यक्ष रमेश चौधरी पक्राउ परेका थिए । तर, उनी अहिले छुटिसकेका छन् । अर्को पक्षले भने उनलाई मुद्दा कमजोर बनाएर छुटाइएको आरोप लगाएका छन् । उनीहरुले वनकै अध्यक्षसहित गाउँका तस्करहरुको मिलेमतोमा सो क्षेत्रमा विगत लामो समयदेखिनै काठ तस्करी हुने गरेको बताएका छन् । स्रोतका अनुसार सामुदायिक वनको स्रोतमा पहुँच नपुगेका व्यक्ति र पहुँच पुगेका व्यक्तिहरुकाबीचमा वनको स्रोतका विषयमा समेत पटक–पटक विवादको अवस्था सृजना भएको छ ।
अहिले सो सामुदायिक वनको हाताभित्र ठूलो परिमाणमा सालका रुखहरु कटानी हुँदासम्म पनि वन प्रशानसनले तस्करीमा संलग्नलाई पक्राउ गर्न नसकेको स्थानीयको भनाई छ । हरिया रुख काटेर राखिएका गोलिया देखाउँछौं भनेर वनका कर्मचारीलाई पटक–पटक बोलाउँदा पनि अनुगमनमा नआउने गरेको स्थानीय प्रकाश चौधरीले बताए । सो गाउँमा गत माघ महिनामा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीदेखि वन कर्मचारीको योजनामानै अवैध रुपले साल कटानी गर्ने कार्य भैरहेको आरोप स्थानीयको छ ।
सामुदायिक वनका उपभोक्ताहरुको पूर्ण सहमति नभएको अवस्थामा किर्ते कागज खडा गरेर वैज्ञानिक वन बनाउने गतिविधी शुरु भैसकेपछि मात्र अरु उपभोक्ताले थाहा पाएको कुरा स्थानीय भलभन्सा बुझाउन चौधरीले बताए । वैज्ञानिक वन बनाउने पक्षमा अर्को पक्ष सहमत नभएपछि उनीहरुको योजना सफल नहुँदा रातारात वनका हरिया रुख काट्ने काम भएको स्थानीयको आरोप छ ।
३१ असार २०७७, बुधवार ०७:१९ बजे प्रकाशित













