राजेश हमालको टेलिभिजन कार्यक्रम ‘जातका प्रश्न’ विवादमा
अभिनेता राजेश हमालको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ विवादमा परेको छ । हिन्दुविरोधी कार्यक्रम निर्माण गरेको भन्दै कार्यक्रमको सामाजिक संजाललगायत चारैतिर चर्को विरोध हुन थालेको हो ।
‘क्रिश्चियन एड नेपाल’को लगानीमा समता फाउण्डेसनले कान्तिपुर टेलीभिजनबाट प्रसारण गर्दै आएको ‘जातको प्रश्न’ नेपाली समाजको विभेद र छुवाछुतको अत्यका लागि भन्दै सुरु भएको थियो ।
कार्यक्रमका कारण अहिले अभिनेता हमाल पनि निसानामा परेका छन् । हमाल नायक भएर पनि कार्यक्रम मार्फत उनले समाजप्रति कुठाराघात गरेर खलनायकको भूमिका निर्वाह गरेको आरोप लगाइएको छ ।
हमालले ‘जातको प्रश्न’ नामको कार्यक्रम तत्काल छोडेर हिन्दु समाजसँग माफी माग्नुपर्ने अवाज समेत गुन्जन थालेका छन् ।
सामाजिक संजालमा कार्यक्रमको चर्को बिरोध भइरहँदा सोमबार राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाडौंको भिमसेन गोलामा जम्मा भएका हिन्दु समर्थकहरुले हमालको पुत्ला जलाउदै चर्को विरोधसमेत गरेका छन् ।
हिन्दुहरुको बसोबास रहेको देशमा उनीहरुलाई बदनाम गर्ने गरी सुरु गरिएको कार्यक्रम तत्काल वन्द गराउनु पर्ने माग उठेको छ ।
२७ असोज २०७७, मंगलवार ११:१३ बजे प्रकाशित































