सञ्चार गृहमा आक्रमणः दोषीलाई पक्राउ गर्न महासंघद्वारा २४ घण्टे अल्टिमेटम
पत्रकार महासंघ कैलालीले धनगढीस्थित दिनेश संचार गृहमा प्रवेश गर्दै त्यहाँ कार्यरत पत्रकारलाई कुटपिट गर्ने व्यक्तिहरुलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेको छ ।
घटना भएको दुई दिनसम्म पनि दोषीलाई पक्राउ गर्न नसकेको भन्दै पत्रकार महासंघले प्रमुख जिल्ला अधिकारीलाई २४ घण्टे अल्टिमेटम दिएको छ । महासंघको अगुवाईमा शनिबार भएको छलफलपछि प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ध्यानाकर्षण पत्र बुझाउँदै २४ घण्टे अल्टिमेटन बुझाइएको महासंघका अध्यक्ष जगत साउँदले जानकारी दिए ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बोहराले आइतबारसम्ममा दोषीलाई पक्राउ गर्ने आश्वासन दिएका छन् । उनले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षको सौचालयमा मृत भेटिएका व्यक्तिको बारेमा सम्प्रेषित समाचार डिलिट गर्नुपर्ने भन्दै एक समूहले शुक्रबार दिनेश सञ्चार गृहमा आक्रमण भएको थियो । त्यहाँ कार्यरत पत्रकार र कर्मचारीमाथि कुटपिट गरेको थियो ।
प्रहरीले दिएको जानकारीको आधारमा दिनेश खबरले धनगढीमा प्रहरीको थुनुवा कक्षभित्र १९ वर्षीय युवकले आत्महत्या गरेको समाचार सम्प्रेषण गरेको थियो । तर सञ्चार गृहमा आक्रमण गर्नेहरुले भने त्यो आत्महत्या नभई हत्या भएको भन्दै समाचार डिलिट गर्नुपर्ने वा सच्याउनुपर्ने भन्दै पत्रकारलाई कुटपिट गरेका थिए ।
२७ भदौ २०७७, शनिवार १९:०१ बजे प्रकाशित































