punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अभिभावकविहीन बालबालिकाका लागि संरक्षण केन्द्र

Chaupati
safha napa

टीकापुर। कैलालीको टीकापुर नगरपालिकाले अभिभावकविहीन बालबालिकाका लागि अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्र सञ्चालन गर्न थालेको छ। नगरपालिकाले टीकापुर–१ वनगाउँस्थित सरस्वती माविमा संरक्षण केन्द्र सञ्चालनको तयारी गरेको छ।
विद्यालयमा ५० बालबालिका अट्ने संरक्षण केन्द्र निर्माण भइसकेको छ। पालिकाले ४० विद्यार्थीलाई यस वर्ष नयाँ शैक्षिक शत्रदेखि संरक्षणमा राख्न सकिने गरी तयारी थालेको छ। यसका लागि रु २० लाख बजेटको व्यवस्था गरिएको शिक्षा अधिकृत नरेश अवस्थीले बताए।

‘अभिभावकविहीन बालबालिकाको शैक्षिक विकासमा सहयोग पुगाउने उद्देश्य हो, बालबालिकाको आवास तथा गासकै समस्या रहेकाले शैक्षिक विकासमा समस्या देखिएको छ’, उनले भने, ‘अभिभावक नभएका बालबालिकाको संरक्षण पालिकाको जिम्मेवारी हो। उनीहरुले पढ्न पाउनु उनीहरुको नैसर्गिक अधिकार भएकाले हामीले संरक्षण केन्द्र सञ्चालन गर्न थालेका हौँ।’
पालिकाले शैक्षिक वर्ष २०८२ देखि लागू हुने गरी संरक्षण केन्द्र सञ्चालन गर्न थालेको छ। केन्द्रमा पालिकाभित्रमा स्थायी बसोबास भएका बालबालिका बस्न पाउनेछन्। सरस्वती मावि बनगाउँले विद्यार्थी भर्नाका लागि गत माघ ३ गते नै सूचना निकालिसकेको छ।
अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्रमा नयाँ विद्यार्थी भर्नाका लागि विद्यालय व्यवस्थापन समितिले निर्णय गरी अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१ परिच्छेद ५ को उपदफा १ बमोजिम सूचना निकालिएको प्रधानाध्यापक खगेन्द्रबहादुर घर्तीमगरले बताए।

‘पालिकाले छात्रावासका लागि बजेट विनियोजन गरेको छ, हामीसँग यसअघि नै छात्रावास छ’, उनले भने, ‘विगतमा मुक्तकमलहरी बसिरहेका थिए। उनीहरुले कक्षा १२ सम्मको पढाई सकेकाले छात्रावास खाली थियो।’ छात्रावासमा १६ वर्षमुनिका बालबालिकालाई मात्र भर्ना लिइनेछ। असहाय केन्द्रमा  बस्नका लागि हालसम्म करिब २० बालबालिकाले आवेदन दिएका छन्। पालिकाले संरक्षण केन्द्रमा राखेर अभिभावक विहिन बालबालिकालाई कक्षा १२ सम्म लालनपालन र शिक्षा दिनेछ।

जनप्रकाश आधारभूत विद्यालय टीकापुर–४ का प्रधानाध्यापक रघुनाथ उपाध्याय अभिभावकविहीन बालबालिकालाई विभिन्न सङ्घसंस्थाले संरक्षण गरिरहेको अवस्थामा सरकार आफैँले दायित्व निर्वाह गर्नु सकारात्मक भएको बताए। “सरकार आफैँले बालबालिका संरक्षण गर्नु जिम्मेवारी बोध गर्नु हो’, उनले भने, ‘बालबालिकाको शिक्षामात्र नभई पोषण र सुरक्षामा समेत सहयोग पुग्छ।’

अभिभावक विमला चौधरी पालिकाले संरक्षण केन्द्र स्थापनामा सघाएमा अभिभावक नभएका छोरीहरुको सुरक्षा हुने बताउछन्। ‘अभिभावक नभएका धेरै छोरीहरु अर्काको घरमा काम गर्नुपर्ने अवस्था छ, सङ्घसंस्थाले पनि संरक्षणका नाममा काममा लगाउँछन्’, उनले भने, ‘सरकारले व्यवस्था गरेमा उनीहरुका हरेक अधिकार सुरक्षित हुन्छन्। यो राम्रो कार्य हो।’रासस


२२ चैत २०८१, शुक्रवार ११:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु