कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु
काठमाडौं, साउन २१ । कोरोना संक्रमणबाट मोरङमा बुधबार मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधबार दिउँसो रिपोर्ट आउँदा दुबै जनामा संक्रमण पुष्टि भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासहो ।
विराटनगर महानगरपालिका– ९ का ४५ वर्षका पुरुष मंगलबार राति अस्पताल भर्ना भएका थिए । उनको बुधबार दिउँसो १ बजे मृत्यु भएको थियो ।
कलेजोको गम्भीर समस्या भएका उनी मंगलबार राति उपचारका लागि अस्पताल भर्ना भएका थिए । आइसोलेसनमा उनको मृत्यु भएको दुई घण्टापछि रिपोर्ट पोजेटिभ आएको हो । त्यस्तै रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षका पुरुषको भने अस्पताल ल्याउने क्रममा बुधबार बिहान साढे १० बजे मृत्यु भएको थियो ।
कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब संकलन गरेर कोशीको प्रयोगशालामा परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो । बुधबार दुई जनाको मृत्यु भएसँगै प्रदेश १ मा कोरोना कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । सोमबार दिउँसो कोशी अस्पतालमै विराटनगर–५ घर भएका ७७ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
२१ साउन २०७७, बुधवार १२:५६ बजे प्रकाशित













