सीमामा सशस्त्र प्रहरी : स्थानीयले पाए ‘स्वाद’को निन्द्रा
अंकुश कुँवर
भजनी, साउन १४ । भारतसंग जोडिएको कैलालीको भजनी नगरपालिकाकाको केही भागमा यसअघि चोरी, डकैती, लुटपाटलगायतका घटनाहरु हुँदै आएका थिए । सीमावर्ती भारतीयहरुनै गाउँमा आएर चोरी तथा लुटपाट मच्चाउँथे । जसले गर्दा स्थानीयहरु निकै आजित थिए ।
स्थानीयहरु रातिको समयमा जाग्रामनै बस्थे आफ्ना श्री सम्पती जोगाउन । त्यति मात्रै नभई महिलाले पहिरिएका सुनका गहना पनि जोगाउन गाह्रो थियो । तर, अहिले उनीहरुले त्यो समस्या हटेको छ । स्थानीयबासी अहिले रातमा सुकुनसंग निदाउन पाएका छन् । यसको एउटै कारण हो सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटिनु ।
भारतले देशका विभिन्न ठाउँमा सीमा अतिक्रमण बढाएपछि त्यसको सुरक्षा गर्न नेपाल सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरीका विओपीहरु स्थापना गरेको छ । विओपी अन्तर्गत पनि अस्थायी पोष्टहरु राखिएका छन् । सीमामा सशस्त्र खटिएपछि विगतदेखिनै भारतीय चोर डाँकाहरुबाट आजित भएका स्थानीय अहिले शान्तिसंग जीउन पाएका छन् ।
‘घरका गोठमा बाँध्याका राँगा भैसा पन रातारात चोर आइखेर लैजादा छिया,’ भजनी नगरपालिका वडा नम्बर ५ कि कल्धरी धामीले आफ्नै भाषामा भनिन्, ‘राँगा भैसा जोगाउन पन रात घर बाहिरै जाग्राम बस्ता छियाऔं ।’ स्थानीयकाअनुसार सो क्षेत्रमा राति मात्रै नभई दिउँसै पनि भारततिरबाट आउने व्यक्तिहरुले चोरी डकैती तथा लटपाट मच्चाउने गर्थे ।
विगतमा गाउँमा घरमै बाँधेका र चराउन लगेका गाई बस्तु पनि जोगाउन अप्ठेरहेको रहेको स्थानीय दानबहादुर बुढाको भनाई छ । ‘चोरहरुले नेपालतिर आएर रातारात राम्रा रुखहरु पनि काटेर गाडीमा लोड गरेर पनि लैजान्थे’ उनले भने, ‘त्यो सम्झिदा त अहिले हामीले निकै सुख पाएका छौं । शान्तिको स्वास फेर्न पाएका छौं ।’ सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटिएपछि अहिले त्यस्तो चोरी डकैतीका घटनाहरु नघटेको उनी बताउँछन् ।
सरकारले भर्खरै मात्रै सीमा क्षेत्रमा सशस्त्र प्रहरीलाई खटाएको छ । विभिन्न ठाउँमा थुप्रै विओपीहरु स्थापना गरिएका छन् । त्यो क्रम अहिले पनि जारी छ । यसरी सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाएपछि सीमाको सुरक्षा हुनुका साथै सीमा क्षेत्रमा बस्ने बासिन्दाले पनि सुरक्षाको अनुभूति गरेका छन् ।
सीमा पारीबाट हुने अबैध क्रियाकलाप रोकिनुका साथै चोरी डकैती पनि पूर्ण रुपमा रोकिएको भजनी नगरपालिका वडा नम्बर ५ कि स्थानीय गोमा धामीले बताइन् । ‘पहिले त हामी राति सुत्नै पाउँदैन थियौं,’ उनले भनिन्, ‘अहिले कुनै मतलव छैन । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा दिनरात सुरक्षा गस्ती गरिरहेका छ ।’
कैलालीको भजनीमा मात्रै तीनवटा विओपी स्थापना गरिएका छन् भने त्यसअन्तर्गत अस्थायी पोष्टहरु पनि राखिएका छन् । यसअघि भजनी नगरपालिका एउटा मात्रै विओपी थिए । यसअघि कैलाली भजनीसहित तीनवटा मात्रै विओपी थिए । अहिले जिल्लाभर जम्मा १० वटा विओपी सञ्चालनमा रहेको सशस्त्र प्रहरी बल ३४ नम्बर गण धनगढीले जनाएको छ ।
सीमा क्षेत्रमा राखिएका विओपी र कोभिड–१९ लाई मध्येनजर गर्दै त्यसअन्तर्गत राखिएका अस्थायी पोष्टले गर्दा चोरी–तस्करी रोकिएपछि स्थानीय पनि खुशी भएका छन् । सशस्त्र प्रहरीले अस्थायी रुपमा राखिएका पोष्टहरु हटाउन खोज्दा पनि स्थानीयले हटाउन नदिइरहेको ३४ नम्बर गणले जनाएको छ ।
केही दिनअघि मात्रै ३४ नम्बर गणले बंग्रामा राखिएको अस्थायी पोष्ट हटाउन खोजेपछि स्थानीय र जनप्रतिनिधिले हटाउन दिएका थिएनन् । उनीहरुले चोरी तस्करी रोकिनुका साथै सुरक्षासमेत भएको भन्दै पोष्ट हटाउन दिएका थिएनन् ।
१४ साउन २०७७, बुधवार १०:५३ बजे प्रकाशित































