सुदूरपश्चिममा एकैदिन दुई महिनेदेखि १० वर्षसम्मका १२ बालबालिकामा कोरोना संक्रमण
धनगढी, साउन १४ । सुदूरपश्चिममा आज एकै दिन दुई महिनेदेखि १० वर्षका १२ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएका ५७ जनामा संक्रमण भेटिएको हो । प्रयोगशालामा दुई सय जनाको कोरोना परीक्षण गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
उनकाअनुसार १२ जना बालबालिकाहरुमा डोटीको आदर्श गाउँपालिकाका दुई महिने बालक, तीन महिने, सात महिने, १० महिने, र चार वर्षीया बालिकामा कोरोना पुष्टि भएको छ। यस्तै आदर्श गाउँपालिकाकै एक, दुई र पाँच वर्षीय बालकमा पनि कोरोना पुष्टि भएको छ।
कैलालीको भजनी नगरपालिकाकी तीन वर्षीया बालिकामा समेत कोरोना पुष्टि भएको छ । यसैगरि,बर्दगोरीया गाउँपालिकाका १० वर्षीया बालक र कञ्चनपुरको बेलौरीका दुई वर्षीय बालकमा पनि कोरोना पुष्टि भएको सेती अस्पतालले जनाएको छ। योसंगै सुदूरपश्चिममा १० वर्षमूनीका कोरोना संक्रमित बालबालिकाको संख्या चार सय ४४ पुगेको छ।
१४ साउन २०७७, बुधवार १०:२७ बजे प्रकाशित































