भारतमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित भेटिए
धनगढी, साउन १२ । भारतमा पछिल्लो २४ घन्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् ।
पछिल्लो २४ घण्टामा ५० हजार ५२५ संक्रमित भएका छन् । लगातार संक्रमितको संख्यामा बृद्धि हुदै आएको भारतमा सोमबारको यो तथ्यांक अहिलेसम्मकै धेरै हो ।
तीन दिनयता लगातार ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।यसअघि आइतबार, शनिबार र शुक्रबार लगातार ४८ हजारभन्दा बढी संक्रमित भेटिएका थिए ।
भारतमा कुल संक्रमित संख्या १४ लाख ३६ हजार १९ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ९ लाख १८ हजार ७३५ संक्रमणमुक्त भएका छन् भने ४ लाख ८४ हजार ४७४ जनाको उपचार भइरहेको छ ।
कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७१४ जनाको मृत्यु भएको छ । योसङ्गै सोमबार बिहानसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको ३२ हजार ८१० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
१२ साउन २०७७, सोमवार ००:४८ बजे प्रकाशित































