मौलापुरकी नगरप्रमुख साह अब्बल, गरिन् सबैभन्दा बढी बजेट खर्च
गौर, साउन ९ । रौतहटको मौलापुर नगरपालिलाकी प्रमुख रीनाकुमारी साहले अब्बल नेतृत्वको उदाहरण दिएकी छिन् ।
प्रदेश नम्बर २ मै एक मात्र महिला स्थानीय तह प्रमुख रहेकी उनको नेतृत्वमा नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा ८५ प्रतिशत बजेट खर्च गराएकी छिन् । कोष लेखा तथा नियन्त्रक कार्यालय रौतहटले उपलब्ध गराएको तथ्यांकअनुसार मौलापुर नगरपालिकाले संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदानको ८५ प्रतिशत रकम खर्च गरेको छ । जुन जिल्लाको १८ स्थानीय तहहरुमध्ये सबैभन्दा बढी छ ।
नगरपालिकाले संघीय सरकारबाट प्राप्त गरेको चालू खर्चतर्फको ९६.६३ प्रतिशत तथा पुँजीगत खर्चतर्फको ७९.७९ प्रतिशत बजेट खर्च भएको छ । त्यस्तै प्रदेश सरकारबाट प्राप्त चालू खर्चतर्फको ६८.८८ प्रतिशत तथा पुँजीगत खर्चतर्फको ७४.१८ प्रतिशत बजेट खर्च भएको छ । समग्रमा चालुतर्फ ९३.०७ प्रतिशत र पुँजीगततर्फ ७७.०१ प्रतिशत गरी कुल ८५.०४ प्रतिशत बजेट खर्च भएको छ ।
नगरप्रमुख साहले चुनाव जितेलगत्तै पुरुषभन्दा बढी काम गरेर देखाउने बताएकी थिइन् । अहिले उनको नेतृत्वले उक्त भनाई पुष्टि हुँदै गएको देख्न सकिन्छ । एकातिर महिलाले उचित स्थान नपाईरहेको बेला महिला मेयरको नेतृत्वमा मौलापुर नगरपालिकाले अग्रभाग हासिल गरिरहेकोप्रति महिलाहरुले गर्व गर्ने स्थिति रहेको महिला अधिकारकर्मीहरु बताउछन् ।
यो बजेट खर्चको स्थिति मात्र नभई यस नगरपालिकाले दलित भवन निर्माण, किसानलाई निशुल्क सिंचाई र बीउ, सहुलीयत मलखाद, मालपोत करलगायतको प्रगतिशील काम गरेको छ ।
९ साउन २०७७, शुक्रवार १०:४६ बजे प्रकाशित































