आजदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल संचालनमा
सरकारले दशैँ, तिहार, छठ लगायत चाडपर्व लक्षित आइतबार (आजदेखि ) काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशभरका चाडपर्व लक्षित सहुलियत पसलको औपचारिक उद्घाटन गरेका हुन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीको वागमती प्रदेशिक कार्यालय थापाथलीबाट मन्त्री रिजालले आज (आइतबार ) सहुलियत पसलको उद्घाटन गरेका छन् ।
सरकारले हरेक वर्ष देशभरका विभिन्न क्षेत्रमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सहुलियत पसलहरु सञ्चालन गर्दै आएको छ ।
जसअनुसार यो वर्ष पनि सरकारले उपभोक्ताको सहजताका लागि काठमाडौं उपत्यका र बाहिर गरी ४३ जिल्लाका ४९स्थानमा बिक्री स्थल राखेको छ ।
सहुलियत पसलमा खाद्य वस्तुहरुका चामलमा प्रतिकेजी सात र खाने तेल लगायतका वस्तुहरुमा पनि ७ रुपैयाँ छुट दिएको छ । गेडागुडी, खसी बोका र भेडा च्याङ्ग्रामा प्रतिकेजी १० रुपैयाँका दरले छुट गरिएको छ ।
खाद्य व्यवस्थाले मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व र रुकुम पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला र कंचनपुरमा सहुलियत पसल राखेको छ ।
सहुलियत पसलमा साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट पाइनेछ । सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुनेछन् ।
२१ असोज २०८०, आइतवार १६:३४ बजे प्रकाशित































