नेम्वाङको पार्थिव शरीर टिचिङ अस्पतालबाट एमाले केन्द्रीय कार्यालय लगीदै
संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट निकालिएको छ ।उनको पार्थिव शरीर नेपाली सेनाको टोलीले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल ल्याउँदै छ।
एमाले केन्द्रीय कार्यालयमा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । नेम्वाङको आज बिहान निधन भएको थियो । गएराति बालुवाटारस्थित निवासमा बेहोस भएका नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयपछि नेम्वाङको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ। संविधान सभा अध्यक्ष नेम्वाङका छोराहरु विदेशमा भएकाले उनीहरु फर्किएपछि अन्त्येष्टिको दिन निश्चित हुने छ । यद्यपि २८ गते मुन्धुम सँस्कृतिअनुसार अन्त्येष्टि गर्ने तयारी छ। उनको अन्त्येष्टि जहिले गरिन्छ, त्यही दिन सार्वजनिक बिदा हुने छ।
२६ भदौ २०८०, मंगलवार १३:१५ बजे प्रकाशित































