दलहरूको छायामा परिरहने छ धर्म
निर्णय सिन्धु भनिने धार्मिक ग्रन्थ हिन्दु धर्मको यस्तो नियमहरूको संगालो रहेछ जसले विवाह, व्रतबन्ध, आशौच, सुतक, जस्ता कार्यहरूमा कर्मकाण्डीय समस्या आइपर्यो भने विभिन्न कालखण्डमा धर्मका व्याख्याता र विद्वत मानिने ऋषिमूनीहरूले धर्मावलम्वीहरूको समस्या समाधान गरिदिने गरेको र तिनै परिस्थितिका आधारमा पनि हिजो आज कर्मकाण्डीय समस्या पर्दा यही ग्रन्थको सन्दर्भका आधारमा धार्मिक अनुष्ठान र संस्कारहरूको निरन्तरतामा अल्पविराम वा पूर्ण विराम लाग्दो रहेछ। विशेष गरेर जातीय छुवाछुत र विभेद हुने सास्कृतिक कर्महरूमध्ये विवाह, व्रतबन्ध, आशौच, सुतक लगायत धार्मिक सांस्कृतिक कार्यहरू हुन्।
यस दृष्टिकोणले हिन्दु धर्ममा समय परिस्थिति अनुसार परिवर्तन हुन सक्ने विशेषता पनि रहेछ र यो विशेषताले हिन्दु धर्मको गतिशिलता र जिवन्ततालाई संरक्षण गर्ने कार्य गरेको देखाउँछ। यस अर्थमा हिन्दु धर्म जिवन्त छ, अपरिवर्तनीय छैन् भनेर भन्दै गर्दा हिन्दु समाजमा तीन हजार बर्षदेखि जरा गाडेर बसेको जातिय विभेद र छुवाछुत प्रत्येक हिन्दुहरूको घर र समाजमा निर्ममता र निर्लज्जतापूर्वक राज गरिरहेको छ। यो विभेदले हिन्दुहरूलाई पीडक र पीडित, निर्दयी र निरीह, शोषक र शोषित, तहहरूमा विभाजित गरिरहेको छ। एउटा तह आज पनि जातकै आधारमा सम्मानित र पूज्य भैरहन चाहन्छ। अर्को अपमानित भैरहेको तह भने पूर्खाले सहेको झैं सहने पक्षमा छैन्।
जातीय उत्पिडनको जातोमा पिसिदै आएको तह भने धर्मकै कारण विभेद भएको निष्कर्ष सहित धर्म नै त्यागी दिने वा निषेध हुने सार्वजनिक, सांस्कृतिक र धार्मिक स्थल र कार्यहरूको प्रवेश र प्रयोग समानताका आधारमा हुनुपर्छ भन्दै आन्दोलन र विद्रोह गरिरहेको छ। धार्मिक , सांस्कृतिक र सार्वजनिक स्थल र कार्यहरूमा समान र सम्मानपूर्वक सहभागिताको लागि विद्रोह वा आन्दोलन हिन्दु धर्मको उन्नयन र उत्थानका लागि धेरै उपयोगी छन्। यसले हिन्दुहरूको संख्या घट्नुको सट्टा वृद्धि हुन्छ।
हिन्दु भएका कारण हिन्दु धार्मिक र सांस्कृतिक कार्य र स्थलहरूको उपयोग गर्ने चाहना कुनै पनि अर्थमा जायज छ। ढिलो चाँडो सबैले यो आन्दोलनलाई समर्थन सहयोग गर्नैपर्छ। यो आन्दोलनलाई हार्दिकताका साथ स्वागत गर्नैपर्छ। तर उपेक्षित र उत्पिडितहरूले आफ्नो परिवर्तनको चाहनालाई हिन्दुत्व भित्र सम्बोधन नगर्दा , विभेद र छुवाछुत गर्न नछोडेका कारण अपमान सहेर बस्नुको सट्टा धर्म नै परिवर्तन गरेर कृश्चियन लगायतका फरक धर्म ग्रहण गर्नु हिन्दु धर्मका लागि फलदायी हुन सक्तैन।
उपेक्षित उत्पिडित र बहिष्कृतहरूको हिन्दु धर्म त्याग्ने प्रवाहलाई धार्मिक सास्कृतिक तप्का टुलुटुलु हेरेर बसिरह्यो भने यसको क्षति कहाँ हुन्छ, सबैलाई थाह छ। हिन्दु धर्मलाई क्षय हुनबाट जोगाउन सकिने छैन्। धार्मिक र सांस्कृतिक तप्काले क्रान्तिकारी कदम उठाउनै पर्छ। हातमा निर्णय सिन्धु लिएर बोल्नै पर्छ। अब जात व्यवस्थाको समूल अन्त्य भयो भन्न सक्नै पर्छ, समानता र सम्मानपूर्ण व्यवहार आफैबाट शुरू गर्नसक्नै पर्छ। अब धर्म परिवर्तन गर्ने र गराउनेलाई श्रापेर मात्र धार्मिक र सास्कृतिक तप्काको कर्तव्य पूरा भएको मान्न सकिँदैन्।
धर्मलाई त्याग गर्ने लहर जसरी बढिरहेको छ धर्मको क्षयिकरणमा पूर्ण विराम लगाउन पुरानै मानसिकताले सम्भव नै छैन्। वर्तमान उपेक्षित समुदाय चेतनाका दृष्टिले विगतको झैं अशिक्षित र विवश छैन अब। आफै पनि स्वतन्त्रता र समानताको संघर्षमा होमिएको छ। वर्तमान समानता र स्वतन्त्रताको आन्दोलन निरीह र एक्लो पनि छैन्। सहयोग र समर्थनका सबै आयामहरू देशभित्र र बाहिर सबैतिर छन्। त्यसैले जातीय विभेद र छुवाछुतको आन्दोलनलाई सबैले साथ दिनपर्ने दिन आउने नै छ। ढिलो हुँदा भने धरातल अर्कै भैसक्ने छ। धर्म परम्परा र संस्कृतिका नाममा अझैपनि अल्झिने हो भने धर्म परिवर्तनको प्रवाह रोक्न सकिने छैन्।
अर्को कुरा धर्म, संस्कृति र परम्परा आफूलाई अनुकूल हुने गरि व्याख्या विश्लेषण र उपयोग हुने गरेको छ। पौराणिक कथा, मिथक वा घटना जे भने पनि अकल्पनीय वा अविश्वसनीय घटनाहरू भएका छन्। जसले प्रकृतिका नियमहरूलाई पनि चुनौती दिएका छन्। जस्तै मान्छेको शरीरमा पशुका टाउकाहरू प्रत्यारोपण गरिएका प्रसंग पनि धर्म शास्त्रहरूमा उल्लेख छन्। आफूलाई परेको बेला शक्ति हुनेले जे गरे पनि हुने देखियो। यी प्रसंगहरूले हिन्दु धर्ममा समयानुकूल परिवर्तन गर्न सकिने र परम्परामा मात्र जकडिनु पर्ने बाध्यतालाई विस्थापित गरिनुपर्ने देखाउछ। सारा सृष्टिलाई चुनौती दिन सकिन्छ एउटा परिवारका लागि भने लाखौं जनसंख्या भएको मानव समुदायकाले अपमान सहनु पर्ने, विभेद सहनु पर्ने, छुवाछुत सहनुपर्ने विडम्बनापूर्ण पद्धति परिवर्तन गर्न किन सकिँदैन् ?
नेपालको निवर्तमान राजतन्त्रकै कुरा गर्ने हो भने भारद्वाज गोत्रबाट कश्यप गोत्रमा रुपान्तरण भएको छ। जात, जाती, गोत्र र वंश परम्परा उस्तै उस्तै हुन्। शक्तिशालीले मात्र धर्म, संस्कृति र परम्परालाई निहितार्थ अभ्यास गर्न पाउने र कमजोरले धर्म, संस्कृति र परम्पराका नाममा लादिएका कष्ट र अपमान मात्र सहनु पर्ने अवस्था अब सहेर बस्न कोही तयार छैन्।
जुन कुरा तीन दशक यताका अन्तर्जातीय प्रेम विवाह, मन्दिर प्रवेश, सार्बजनिक स्थल, होटल, चिया पसल, धारा पँधेरामा विभेद र छुवाछुत विरूद्ध उत्पिडित उपेक्षित समुदायले हस्तक्षेपकारी भूमिका समेत निर्वाह गर्न साहस गरिरहेको छ। हृदय विशाल बनाउन सकिएन भने नेपाली हिन्दु समाज टकरावको अवस्थामा नआउला भन्न सकिन्न। भावी अनिष्टतालाई रोक्न जरुरी छ। यसको उपाय भनेको जात प्रथामा आधारित विभेद र छुवाछुतको अन्त्य हो।
इतिहासमा शक्ति र सत्ताका आडमा आफू अनुकुल धर्म, परम्परा रितिस्थितिलाई परिवर्तन गर्ने काम भएको छ। तर त्यही इतिहासले या त कमजोर तप्कालाई सताएको छ या कमजोर तप्का टुलुटुलु हेरेर बसेको छ। तिनै सत्तासीनहरूलाई खुशी पार्न उनीहरूको निर्णयलाई देव वाणी बनाउने त्यतिबेलाका धर्माधिकारीहरू नि हुन्। तर धर्माधिकारीहरूको तर्फबाट कमजोर उत्पिडित समुदायलाई उद्वार गर्न विशेष परिवर्तन गर्न प्रयत्न गरेको वा गरिएका परिवर्तनको समर्थन भएको देख्न सकिँदैन्। यसैकारण होला धर्माधिकारीहरूको आह्वानमा शोषित पिडित समुदायको त्यत्रो समर्थन र साथ देखिदैन्।
समस्या हाम्रो धार्मिकतामा छ। सुधारको प्रयत्न पनि धार्मिक तहबाट हुनुपर्ने तर नेपालमा सामाजिक सुधारको लागि आवाज राजनीतिक क्षेत्रबाट उठ्ने गरेको छ। अनि राजनीतिक दलहरूको आह्वानलाई उत्पिडित समुदायले स्वीकार नि गर्ने गरेका छन्। त्यो नेपालका निर्वाचनहरूले प्रमाणित गरेका छन्। धार्मिक अभियान हार्दिकताका साथ सामाजिक सुधारका लागि अगाडी बढेको विरलै देखिन्छ। अझै पनि सदियौं देखि विभेद र जातीय छुवाछुतको सिकार समुदायले समानताको कुरा गर्दा तपाईहरू छुट्टै मन्दिर बनाउनुस बरु हामी नि सहयोग गर्छौं भन्न सक्छन्।
सन्त महन्तका यस्ता अभिव्यक्तिले धार्मिक समुदायको सोच र चिन्तनलाई उदाङ्गो बनाउछ। अपवादका केही धार्मिक सांस्कृतिक विद्वान बाहेक हिन्दु धर्मका विभेदकारी अभ्यासहरूलाई हटाउन धार्मिक संस्थाहरू लागिपरेको देखिदैन्। राजनीतिक दलहरूले जातिय, क्षेत्रीय, लैङ्गिक, भौगोलिक सबै किसिकका धार्मिक, भाषिक, सांस्कृतिक असमानतालाई सम्बोधन गरेर संविधानमा प्रत्याभूत गर्न सकेका छन्। धार्मिक क्षेत्रले युग अनुसार सुधार गर्न के पहल गरेको छ ? त्यसैले आजको जत्तिकै अवस्था सम्म धार्मिक, सामाजिक, सांस्कृतिक अभियानलाई बहसको रुपमा प्रवेश गराउन राजनीतिक दलहरूकै अहम् भूमिका देखिन्छ।
जनजीवनमा समानता र स्वतन्त्रताका कुरा राजनीतिक दलहरूले मात्र गरेको देखिन्छ। अनि जनताको साथ समर्थन त राजनीतिक दलहरूलाई हुने त अवश्यम्भावी छ। अथाह ज्ञानको भण्डार हिन्दु धर्म किन राजनीतिक दलहरू जति पनि उदार हुन सकिरहेको छैन्। वेद, पुराण, उपनिषद हरूको भण्डार कहिलेसम्म थुनेर राख्ने ? ढिलो हुँदै गैरहेको छ। आडम्बरी जीवन शैलीमा मख्ख पर्ने हो भने एक्लिन पर्ने दिन पनि टाढा छैन। त्यसकारण निर्णय सिन्धु हातमा लिएर मानवता, समानता, स्वतन्त्रताको उद्घोष गर्न सक्नुपर्छ। होइन भने राजनीतिक दलहरूको छायामा धर्म परिरहने छ।
५ साउन २०७७, सोमवार ०४:०४ बजे प्रकाशित































