अमिताभले भने- ‘म धेरै केही भन्न सक्दिन’
काठमाडौं, साउन २ । बलिउड अभिनेता अमिताभ बच्चन कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएर उपचारका लागि अस्पतालको आइसोलेसनमा बसेको ६ दिन पुगिसकेको छ ।
नानावाती अस्पतालको आइसोलेसनमा भर्ना भएका अमिताभले उनकाे स्वास्थ्य सुधारका लागि प्रार्थना गरिरहेका शुभचिन्तक प्रति आभार व्यक्त गरेका छन् ।
उनले शुभचिन्तकलाई धन्यवाद दिँदै आफ्नो सामाजिक सञ्जालमा ब्लग पोष्ट लेखेका छन् । पोष्टमा उनले आफूले धन्यवाद बाहेक अरु केही भन्न असमर्थ रहनुको कारण पनि खुलाएका छन् । अमिताभले लेखेका छन्– ‘मलाई तपाईँको आर्शिवाद, प्रेम र प्रार्थना सबै मिलिरहेको छ । मेरो आभारको कुनै सीमा छैन । अस्पतालको प्रतिबन्धित प्रोटोकलका कारण म धेरै केही भन्न सक्दिन ।’
बिहीबार अमिताभले करिब साढे सात घण्टाको फरकमा दुई पटक भगवान विट्ठलको फोटो सेयर गरे । पहिलो पटक उनले दिउँसो साढे तीन बजेतिर उक्त तस्विर सेयर गर्दै लेखेका थिए– ‘ईश्वरको पाउमा समर्पित ।’ राति १०ः५५ मा पनि उनले सोही तस्विर सेयर गर्दै लेखेका छन्– ‘त्वमेव माता च पिता त्वमेव त्वमेव बन्धुश्च सखा त्वमेव । त्वमेव विद्या द्रविणं त्वमेव त्वमेव सर्वं मम देव देव॥’
मंगलबार अन्तिम पटक उनको स्वास्थ्यको बारेमा मिडियामा अपडेट आएको थियो । मंगलबार न्युज एजेन्सी पीटीआईले अस्पताल स्रोतसँगको कुराकानी उल्लेख गर्दै अमिताभ र अभिषेकको स्वास्थ्यमा सुधार आएको र कम्तिमा पनि ७ दिनसम्म उनीहरु अस्पतालमै रहने बताएको थियो ।
२ साउन २०७७, शुक्रवार ०८:५१ बजे प्रकाशित































