खगराज भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समयसीमाभित्रै भट्टले नेकपा एमालेको समर्थनसहित दाबी पेस गरेका थिए। कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

भट्टको नियुक्तिसँगै शुक्रबार दिउँसो ३ बजे शपथ ग्रहण गराउने तयारी गरिएको छ। मुख्यमन्त्री भट्टले शुक्रबार नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन्।

नेकपा र एमालेबीच सुदूरपश्चिममा मन्त्रालय बाँडफाँटसमेत भइसकेको छ। सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालयको नेतृत्व गर्नेछ। एमालेले आर्थिक मामिला, सामाजिक विकास र वन वा कृषिमध्ये एक मन्त्रालय पाउने स्रोतले जनाएको छ।

यसअघि ३१ असारमा एमालेले बजेटप्रति असहमति जनाउँदै मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि शाहले बिहीबार प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। उनले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको थियो।

नवनियुक्त मुख्यमन्त्री भट्टले आफूलाई ‘चुनौतीको भारीले थिचिएको’ अनुभूति भएको बताएका छन्। नवनियुक्त मुख्यमन्त्री भट्टले  सुदूरपश्चिमका २७ लाख जनताको नेतृत्व गर्ने अवसर पाउँदा खुसीसँगै जिम्मेवारीबोध र चुनौती पनि महसुस भएको बताए।

“म खुसी नै छु। खुसीभन्दा बढी जिम्मेवारीबोध र अलि बढी चुनौतीको भारीले म थिचिएको अनुभव पनि सँगसँगै गरेको छु,” उनले भने।

भट्टले सुदूरपश्चिमेली जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले ठूलो चमत्कार गर्न सम्भव नभए पनि आफूले राम्रो काम गर्ने प्रयास गर्ने बताए।

“धेरै चमत्कार त सम्भव हुँदैन, जे गर्नेछु राम्रो गर्नेछु। र मान्छेलाई राम्रो गर्‍यो भन्ने अनुभूति दिलाउन प्रयास गर्नेछु,” उनले भने।


२९ साउन २०८३, शुक्रवार १३:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु