punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नाउपा संसदीय दलको नेताबाट किन हटाइए रामेश्वर ? यस्तो छ भद्र सहमति

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेताबाट रामेश्वर चौधरीलाई हटाइएको छ । संसदीय दलको नेता हटाउन बसेको बैठकमा स्वयं उनी भने थिएनन् । संसदीय दलको नेताको उपस्थिति विना प्रमुख समेतक लक्ष्मण किशोर चौधरीको अध्यक्षतामा बसेको बैठकले रामेश्वर चौधरीलाई हटाएर घनश्याम चौधरीलाई संसदीय दलको नेता बनाएपछि यहाँको राजनीति तरङ्गित भएको छ ।

सरकार विस्तारको पूर्व सन्ध्यामा संसदीय दलको नेता परिवर्तनले धेरैले नागरिक उन्मुक्ति पार्टी भित्रको विवाद उत्कर्षमा आएको टिप्पणी गरिरहेका छन् । आज संसदीय दलको कार्यालयमा बसेको बहुमत सदस्यहरूको बैठकले दलको नेता मात्रै परिवर्तन गरेन प्रमुख सचेतकको जिम्मेवारी पनि हेरफेर गरेको छ । यस अघि प्रमुख समेतक रहेका लक्ष्मण किशोर चौधरीबाट उक्त जिम्मेवारी खुसीराम चौधरीले पाएका छन् ।

संसदीय दलको नेता र प्रमुख समेतक परिवर्तनलाई नागरिक उन्मुक्ति पार्टीका सांसदहरू भने यस अघिको सहमति कार्यान्वयन गरेको बताउँछन् ।

‘केही दिन पहिले काठमाडौँमा मन्त्री बन्नेहरूले दलको जिम्मेवारी त्याग्नु पर्ने सहमति भएको थियो सोही अनुसार संसदीय दलको नेता र प्रमुख सचेतकको जिम्मेवारी हेरफेर भएको हो’ प्रमुख सचेतकको जिम्मेवारी निभाउँदै आएका लक्ष्मण किशोर चौधरीले भने , ‘हेड क्वाटरमा भएको सहमति अनुसार जिम्मेवारी हेरफेर भएको हो ।’

उनले आफू र संसदीय दलको नेता रहेका रामेश्वर चौधरी मन्त्री बन्ने भएपछि पार्टी केन्द्रको सल्लाह र यस अघिको बैठक अनुसार दलको नेता र प्रमुख सचेतक फेरिएको बताए ।

आजको बैठक मार्फत सचेतकको जिम्मेवारी पाएका कैलाश चौधरीले पनि यस अघि भएको सहमतिका आधारमा आज निर्णय गरिएको बताए । सरकार विस्तार हुँदा नै नागरिक उन्मुक्तिले २ मन्त्रालय र एक राज्य मन्त्री पाउने सहमति गरेको भन्दै ती दुई मन्त्रालयमा जिम्मेवारी पाउने नेताहरूको जिम्मेवारी हेरफेर गरिएको उनले जानकारी दिए ।

संसदीय दलको नेता परिवर्तन गर्न बसेको बैठकमा लक्ष्मण किशोर चौधरी, धनश्याम चौधरी, खुसीराम चौधरी र कैलाश चौधरी उपस्थित थिए । इन्दिरा गिरी बैठकमा उपस्थित भएपनि हस्ताक्षर भने गरिनन् । त्यस्तै बैठकमा रामेश्वर चौधरी र टिका थापा भने उपस्थित थिएनन् । आफ्नो उपस्थिति नभएको बैठकमा आफ्नो जिम्मेवारी खोसेको विषयले रामेश्वर रुष्ट रहेको स्रोतको दाबी छ । आज बैठक बस्नु अघि रामेश्वर चौधरीले घनश्याम चौधरीलाई फोन सम्पर्क समेत गरेका थिए । उनले तत्काल त्यस्तो निर्णय नगर्न आग्रह गरेको स्रोतको दाबी छ । घनश्याम चौधरीले भने भद्र सहमति कार्यान्वयन गर्न र संसदीय दलको नेताकै उपस्थितिमा बैठक बसाउन उनलाई आग्रह गरेका थिए । घनश्यामको आग्रह पछि पनि रामेश्वर नआएपछि उनको उपस्थिति विना नै दलको नेता परिवर्तन गरिएको हो ।
हिजो नै दलको नेता परिवर्तन गर्ने गृहकार्य अन्तिम चरणमा पुगेको थियो । लक्ष्मण किशोर चौधरी र खुसीराम चौधरी प्रदेश सभामा पुगिसकेका थिए । तर, कैलाश चौधरी उपस्थित नहुने र बहुमत नपुग्ने भएपछि आज बैठक राखेर उक्त निर्णय गरिएको हो ।

आजको निर्णयले नागरिक उन्मुक्तिमा विवाद चर्किने देखिन्छ। २ मन्त्रालय पाएको अवस्थामा आजबाट जिम्मेवारी विहीन भएका रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरी मन्त्री बन्ने छन् । १ मन्त्रालय पाएको अवस्थामा फेरी दुबै बिच मन्त्रीका लागि प्रतिस्पर्धा हुने देखिन्छ ।

अहिले ४ मन्त्रालय मन्त्री विहीन छन् । माओवादी केन्द्रले तीन मन्त्रालयको दाबी गरिरहेको छ । यस्तो अवस्थामा नागरिक उन्मुक्तिले एकै मन्त्रालयमा मात्रै पनि चित्त बुझाउनु पर्ने हुन सक्छ । यहाँ नागरिक उन्मुक्तिमा ७ सांसद छन् ।

 


२७ वैशाख २०८०, बुधवार १८:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु