प्रधानमन्त्री प्रचण्ड वैशाख पहिलो साता भारत जाँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख पहिलो साता भारतको राजकीय भ्रमण गर्ने गरी तयारी सुरु भएको छ । भारतीय विदेशसचिव विनयमोहन क्वात्राको नेपाल भ्रमणका वेला राष्ट्रपतिको निर्वाचनलगत्तै प्रधानमन्त्रीको भारत भ्रमण हुनेबारे छलफल भएको थियो । भ्रमणबारे परराष्ट्र मन्त्रालयले सरोकारवाला मन्त्रालयहरूसँग राय मागेको छ ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्रीको भारत भ्रमणका लागि आन्तरिक गृहकार्य भइरहेको बताइन् । प्रधानमन्त्रीले भारतमा उठाउनुपर्ने एजेन्डाबारे सरोकारवाला मन्त्रालयहरूसँग परराष्ट्रले समन्वय थालेको छ । बालुवाटार स्रोतले पनि भ्रमणको तयारी भइरहेको जनाएको छ । ‘मन्त्रिपरिषद् विस्तारपछि भारतबाट निमन्त्रणाको औपचारिकता आउँछ भन्ने छ । भ्रमणका लागि तयारी सुरु भइसकेको छ,’ स्रोतले भन्यो, ‘वैशाख पहिलो साता भारत भ्रमण गर्ने गरी तयारी भइरहेको छ । दुवैतिर समन्वय गरेर मिति तय गर्ने र भारतबाट त्यहीअनुसार निमन्त्रणापत्र पठाउने भन्ने छ ।’
प्रधानमन्त्री प्रचण्डले पनि भारत भ्रमणमा जाने सार्वजनिक गरिसकेका छन् । प्रधानमन्त्री भएलगत्तै प्रचण्डलाई भारतीय विदेशसचिव क्वात्राले टेलिफोन गरेर बधाई दिँदै भारत भ्रमणका लागि भारत सरकारका तर्फबाट प्रस्ताव गरेका थिए । त्यसपछि प्रचण्डले एउटा भारतीय टेलिभिजनमा र बालुवाटारमा सम्पादकहरूसँगको भेटमा पहिलो विदेश भ्रमण भारतमा हुने बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी मोदीले पठाएको बधाई सन्देश १५ पुसमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बालुवाटार पुगेर हस्तान्तरण गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ जेठ ०७९ मा लुम्बिनी भ्रमणमा आउँदा उनले निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए । त्यसअनुसार कूटनीतिक भाषामा भारतबाट प्रधानमन्त्रीको भ्रमणका लागि निमन्त्रणा भइसकेको छ ।
१३ चैत २०७९, सोमवार ११:५९ बजे प्रकाशित































