तत्काल जग्गा खाली नगर्न टीकापुर नगरपालिकालाई अदालतको आदेश, लिखित जवाफ माग
जिल्ला अदालत कैलालीले टीकापुर नगरपालिकाका नाममा वडा नं. १ बनगाउँस्थित जग्गा खाली नगर्न अन्तरिम आदेश दिएको छ ।
टीकापुर नगरपालिकाले स्थानीय नरबहादुर बुढामगर लगायतले सात परिवारले भोगचलन गर्दै आएको झन्डै एक बिघा जग्गा, घर, गोठबाट नहटाउनु नभत्काउनु भन्दै अदालतले अन्तरिम आदेश दिएको हो ।
जिल्ला न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले नगरपालिका, नगर प्रमुख रामलाल डगौरा थारु र टीकापुर नगर विकास समितिका नाममा जग्गा खाली नगराउन अन्तरिम आदेश दिएको हो ।
‘निवेदकले माग गरेको अन्तरिम आदेशको हकमा विचार गर्दा निवेदकहरुले आफू बसिआएको घरजग्गाको पानीको कर, बिजुलीको कर तिरेको देखिएको र तत्काल निवेदकहरुको घर गोठ खाली गराउँदा नेपालको संविधानले परिकल्पना गरेका निवेदकहरुको आवास तथा सम्पत्ती सम्बन्धी अधिकारमा आघात पर्ने हुँदा’ आदेशमा भनिएको छ ‘पछि लिखित परेपछि पुनर्विचार हुने नै हुँदा हाल निवेदकको माग बमोजिम निवेदकहरुको जग्गा, घर, गोठबाट नहटाउनु, नभत्काउनु भनी विपक्षीहरुको नाउँमा जिल्ला अदालत नियमावली २०५२ को नियम ३४ बमोजिम यो अन्तरिम आदेश समेत जारी गरिएको छ ।’
आदेशमा नगरपालिका, नगर प्रमुख, नगर विकास समितिलाई १५ दिनभित्र लिखित जवाफ पठाउन समेत भनिएको छ ।
टीकापुर नगरपालिकाले उक्त जग्गालाई सार्वजनिक जग्गा बताउँदै खाली गर्न सूचना जारी गरेको थियो ।
२९ फागुन २०७९, सोमवार १९:१३ बजे प्रकाशित































