सुदूरपश्चिममा कांग्रेसले बोलायो संसदीय दलको बैठक
सुदूरपश्चिमका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दलको बैठक बोलाएका छन् । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाका अनुसार मुख्यमन्त्री शाहले बिहान १० बजे प्रदेश संसदीय दलको कार्यालयमा बैठक बस्न लागेका हुन् ।
दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शाहको तयारी छ । संविधानको धारा १६८ ९३० अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा सरकार गठन भएको छ ।
माघ २६ गते गठित सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मतका लागि २७ मत आवश्यक छ । गठबन्धनमा रहेका आठ दलमध्ये सुदूरपश्चिममा कांग्रेससँग १९, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् ।
एक जना स्वतन्त्र सांसदको पनि सरकारलाई नै साथ छ । तर माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले विश्वासको मत दिनुअघि शनिबार साँझ मुख्यमन्त्रीलाई भेटेर ‘पावरसेयरिङ’ को विषय निर्क्योल हुनुपर्ने बताएका थिए ।
२१ फागुन २०७९, आइतवार ०९:२८ बजे प्रकाशित































