क्यान इन्फोटेकको आकर्षण बन्यो एसपीएको स्टल
धनगढीमा जारी सूचना प्रविधि मेला (क्यान इन्फोटेक)मा एसपीए कलेजको स्टल आकर्षण बनेको छ । स्टलमा एसपीएका विद्यार्थीहरूले बनाएको उपकरण तथा प्रविधि नियाल्नेहरूको दैनिक भीडभाड देखिएको हो ।
एसपीए कलेजले आफ्ना विद्यार्थीहरुले बनाएका विभिन्न एकदर्जन उपकरण तथा प्रविधिहरु क्यान इन्फोटेकमा प्रदर्शनीमा राखेको छ । जसमा सस्तो किताब डटकम, वान डोर लेखापढी सिस्टम, स्मार्ट डस्टबिन, ग्यास लिकेज डिकेक्टर, भ्वाइस कन्ट्रोल अपलाइन्सेस, इलेक्ट्रिक बाइकलगायत छन् ।

सस्तो किताब डटकम मुख्य गरी पढ्न मिल्ने पूराना पुस्तकहरु किनबेच गर्न सकिने माध्यम हो । कम आए भएका र महङ्गो किताब किन्न नसक्ने विद्यार्थीहरू लागि यो महत्त्वपूर्ण भएको छ ।
जो कसैले पनि आफूसँग भएका पूराना पढ्न मिल्ने पुस्तकहरु वेवसाइटमा राख्न सक्छन । त्यहाँबाट जसलाई चाहिएको हो उसले सस्तो मुल्यमा किताब पाएका छन् । यो सिस्टमको विकास एसपीएका विद्यार्थीहरू पवन अवस्थी, यज्ञराज कडेँललगायतले विकास गरेका हुन् ।
यस्तै एसपीएका विद्यार्थीहरू अनुजा आचार्य, कञ्चन विष्ट र लक्ष्मी चन्दले बनाएको भ्वाइस कन्ट्रोल अपलाइन्सेसमा पनि मानिसहरूको रुचि देखिएको छ ।
उक्त उपकरणको माध्यमबाट बोलीकै भरमा बत्ती, पङ्खा, मोटर, एसीलगायत सम्पूर्ण विद्युतीय उपकरणलाई कन्ट्रोल गर्न सकिन्छ ।

यस्तै एसपीएकै विद्यार्थी सोहन कैनीले बनाएको ‘सवारी एस ५’ इलोक्ट्रिक बाइक विथ फिङ्गरपिन्ट प्रदर्शनी राखिएको छ । सोहनले बनाएको सवारी एस ५ एकपटकमा चार्ज गरेमा ५० देखि ६० किलोमिटर कुद्न सक्छ । ब्याट्रीको पावर बढाएर बाइक अझै धेरै कुद्न सक्ने उनी बताउँछन् । त्यसबाहेक इलोक्ट्रिक बाइक भएकाले यो वातावरणमैत्री पनि छ । औलाको सेन्सरले सजिलै अन गर्न सकिन्छ ।

१८ फागुन २०७९, बिहीवार १७:५२ बजे प्रकाशित































