घोडाघोडी महोत्सव सुरु, संघीय सांसद चौधरीले गरे उद्घाटन
कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा घोडाघोडी महोत्सव २०७९ सुरु भएको छ । “कला सांस्कृतिक कृषि, पर्यटन र व्यापार ,समृद्ध घोडाघोडी विकासको आधार” भन्ने नाराका साथ सुखडको हेलि प्याडमा महोत्सव सुरु भएको हो । घोडाघोडी उद्योग वाणिज्य सङ्घको आयोजनामा आजबाट सुरु भएको महोत्सवको प्रतिनिधि सभा सदस्य गङ्गा चौधरीले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै सांसद चौधरीले यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
महोत्सव उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य खुसीराम चौधरी ‘भिमसेन’, उप प्रमुख गुलिया कुमारी चौधरी, नगर प्रवक्ता घनश्याम ओझा, यस क्षेत्रका बैङ्कका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायत विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।
घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष अध्यक्ष दुर्गा दत्त जोशीले महोत्सव सफल बनाउन अपिल गरेका थिए ।
विश्व रामसार सूचिमा पर्न सफल पर्यटकीय क्षेत्रका रुपमा रहेको घोडाघोडी तालको प्रचारप्रसार गर्न, उद्योग वाणिज्य सङ्घको भवन निर्माणका साथै यस क्षेत्रको सामाजिक विकासमा सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना गरीएको छ । महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ ।
महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहने बताइएको छ । आज बाट सुरु भएको महोत्सव फागुन २८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । १० दिन सम्म सञ्चालन गरिने महोत्सवमा करिब २५र३० लाख खर्च र सोही अनुसारको आम्दानी रहने अनुमान गरिएको आयोजकको दाबी छ ।
१८ फागुन २०७९, बिहीवार १७:४२ बजे प्रकाशित































