कार दुर्घटनाबाट भारतीय क्रिकेटर ऋषभ पन्त गम्भीर घाइते
भारतीय विकेटकिपर ऋषभ पन्त कार दुर्घटनामा गम्भीर घाईते भएका छन् । भारतको उत्तराखण्डस्थित रुर्कीमा शुक्रबार बिहानै पन्तको कार दुर्घटना भएको हो ।
उनको देहरादुनको म्याक्स अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि उनलाई देहरादुन पूर्याउनुअघि स्थानीय अस्पताल लगिएको थियो ।
दुर्घटनाका कारण पन्तको निधार, बायाँ आँखाभन्दा माथि, घुँडामा र ढाँडमा चोट लागेको उनको आपतकालिन उपचारमा संलग्न रहेका डाक्टर सुसिल नागरलाई उदृत गर्दै क्रिकइन्फोले लेखेको छ ।
दुर्घटनापछि कारमा आगलागी भएपनि पन्तको शरीरमा भने आगोले नभेटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खुलाएका छन् ।
“भारतीय क्रिकेटर ऋसब पन्तको कार बिहान लगभग ५ः३० बज्दा दुर्घटनामा परेको छ । उनको कार रुर्की नजिकै मोहम्मदपुरमा दुर्घटना भएको थियो । कार चलाउँदा निदाएका कारण डिभाइडरमा ठोक्किएको र यसपछि आगलागी भएको पन्तले बताएका छन्,” उत्तराखण्ड पुलिसका महानिर्देशकले भने ।
२५ वर्षीय पन्त जनवरी तीनदेखि हुने ट्वान्टी–२० र एकदिवसीय शृंखलाका लागि भारतीय टिममा समेटिएका छैनन् । उनले भर्खरैमात्र सम्पन्न बंगलादेशविरुद्धको टेस्ट शृंखलामा भारतीय टिमबाट खेलेका थिए ।
१५ पुस २०७९, शुक्रवार १३:१४ बजे प्रकाशित































