चौविस घण्टामा देशभर थप ४८२ जनामा कोरोना संक्रमण
काठमाडौं, असार १७
पछिल्लो चौविस घण्टामा देशभर थप ४८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। जसमा ११७ जना महिला र ३६५ जना पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ४८२ जनामा संक्रमण देखिएको बताए । यो संगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ। मन्त्रालयका अनुसार देशभरका सबै जिल्ला संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप १ हजार ४६२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ४ हजार ६५६ पुगेको छ। संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या ३० पुगेको छ ।
१७ असार २०७७, बुधवार १२:२६ बजे प्रकाशित































