गोरखा जानुको अर्थ चितवन छोडेको होइन: प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट निर्वाचन लड्दा चितवन छाडेको रूपमा नअर्थ्याउन आग्रह गरेका छन् ।
चितवनमा भएको गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘गोरखा जानुको अर्थ चितवन छाडेको भन्ने होइन ।’
विगतमा रोल्पा, काठमाडौं, सर्लाही र चितवन हुँदै अहिले गोरखा पुग्नुको पनि अर्थ भएको उल्लेख गर्दै उनले आफू जहाँ भए पनि चितवनको विकासमा निरन्तरता नै हुने बताए ।
आफ्नो घर चितवनमा नै रहेको स्मरण गराउँदै प्रचण्डले भने, ‘म गोरखा जानुको अर्थ चितवन छाडेको होइन । चितवन ३ क्षेत्रका जनताप्रति आभार । मलाई विजयी गरेर चितवनको विकास र समृद्धिको खाका कोर्ने अवसर दिनुभयो । यसमा मलाई गर्व छ ।
अहिले म चितवनबाट निर्वाचन लड्न गोरखा गए पनि मेरो घर चितवन नै है त्यसैले मेरो चासो चिन्ता यहाँ हुन्छ नै । अहिले प्रधानमन्त्रीलाई साक्षी राखेर भन्न चाहन्छु यहाँको विकासका लागि भोलि पनि कुनै कसर बाँकी राख्ने छैन ।’
उनले गोरखाका जनताको ऋण तिर्नुपर्ने अवस्थाले पनि गठबन्धनमा छलफल गरेर नै त्यहाँ पुगेको बताए ।
२६ कात्तिक २०७९, शनिवार १६:०० बजे प्रकाशित































