कैलाली उद्योग वाणिज्य संघले प्रधानमन्त्री देउवालाई बुझायो १० बुँदे ज्ञापनपत्र
कैलाली उद्योग वाणिज्य संघले १० बुँदे मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार संघका अध्यक्ष पुष्पराज कुँवरको नेतृत्वमा गएको टोलीले धनगढीस्थित प्रधानमन्त्री निवासमै प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।
नेपालका बैंक तथा वितीय संस्थाहरुबाट एकाएक कर्जामा गरिएको व्याजदर वृद्विबाट निजी क्षेत्र प्रताडित बनेको भन्दै संघले प्रधानमन्त्री सामु ज्ञापनपत्र बुझाएको हो । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपसँगै कर्जामा व्यजादर वृद्वि गर्दा समग्र अर्थतन्त्र धरासायी हुने अवस्थामा पुगेको संघका अध्यक्ष कुँवरले बताए ।
पटक–पटक अर्थमन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र बैंकलगायत सरोकारवाला निकायहरुलाई जानकारी गराउँदै आएको भएपनि आफूहरुको माग सम्बोधन हुन नसकेको, बैंक तथा वित्तीय संस्थाहरुबाट पटक–पटक गरिने व्याजदर वृद्वि तथा असहज अवस्थामा किस्ता भुक्तानीको ताकेता एवम् मानमर्दनले निजी क्षेत्र पीडित बनेको ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमार्फत लगानीयोग्य पुँजीको शीघ्र व्यवस्थापन गर्नुपर्ने, जोखिमका आधारमा बढीमा ३ प्रतिशत मात्र थप प्रिमियम लिन पाइने व्यवस्था गर्नुपर्ने, बैंकहरुले लिन शुल्क गत वर्ष भन्दा बढी लिन नपाइने लगायतका व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

२२ कात्तिक २०७९, मंगलवार १८:५४ बजे प्रकाशित































