विभिन्न स्थानबाट ३२ जुवाडे पक्राउ
देशका विभिन्न स्थानबाट जुवा तास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका-११ फूलबारी घर भई सोही महानगरपालिका(९ बास्तोला थर बस्ने रमेश गुरुङको बेल बोट रेष्टुरेन्टमा जुवा तास खेलिरहेको अवस्थामा गुरुङ सहित ६ जनालाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त रेष्टुरेन्टमा जुवा तास खेलाई रहेको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५१ हजार १ सय ३० रुपैयाँ र ५२ पत्ती तास सहित पक्राउ गरेको हो ।
यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका(१९ बागफाटा बस्ने ३६ वर्षीय दानी रानाको घरमा जुवा तास खेलिरहेको अवस्थामा दानी समेत १९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा जुवा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २० हजार १ सय १२ रुपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको हो ।
डडेल्धुराको अमरगढी नगरपालिका-५ तुफानडाँडास्थित दोस्ती वाइन सपमा जुवा तास खेलिरहेको अवस्थामा सोही सपका सञ्चालक ३७ वर्षीय गंगा दत्त भट्ट सहित ६ जनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त सपमा जुवा तास खेलाई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८७ हजार ९ सय ७० रुपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
५ कात्तिक २०७९, शनिवार २०:२७ बजे प्रकाशित































