मन्दिर छिरेको निहुँमै सुनारमाथि कुटपिट, २ जना पक्राउ
दलित भन्दै विभिन्न समयमा दलित समुदायका मानिसहरू कुटपिट तथा दुर्व्यवहार हुने गरेको छ । आजको युगमा आइसक्दा पनि विभिन्न किसिमले दलित माथि विभेद हुने गरेको छ । यस्तै अप्रिय घट्ना बाजुरामा पनि भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला टेकेन्द्र सुनार कुटिएका हुन् ।
बुढीगंगा नगरपालिका घर भएर कञ्चनपुर बस्दै आएका सुनारमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । दसैँमा घर गएका सुनार (मङ्गलवार) असोज ११ गते दिउँसो नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न प्रवेश गरेका थिए । त्यसै समयमा रंगप्रसाद उपाध्याय र विनोद ऐडीले कुटपिट सुनारलाई ‘डुम’ भन्दै कुटपिट गरेको प्रहरीले जनाएको छ । त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको संलग्नतामा कुटपिट भएको भन्दै प्रहरीले अहिलेसम्म २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रंगप्रसाद उपाध्याय भने फरार रहेका छन् ।
बाजुराका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यबहादुर थापाका अनुसार वडाध्यक्ष जुद्धबहादुर अयडी र विनोद ऐडी पक्राउ परेका छन् ।
‘सुनार पूजा गरिरहेकै थिए उनीहरू तीन जना आएपछि विवाद सुरु भयो विवादकै क्रममा विनोद र रंगप्रसादले कुटपिट गरे,’ डीएसपी थापाले भने वडा अध्यक्ष जुद्धबहादुर पनि त्यहाँ हुँदा संलग्न छन् भनेपछि पक्राउ परेका हुन् ।,’ पीडितका सुनारले ‘डुम’ भन्दै पूजा सामाग्री फालेर पूजा गर्न नदिएको र कुटपिट गरेको भन्दै प्रहरीमा बुधबार ठाडो उजुरी दिएको डीएसपी थापाले बताए ।
आफूमाथि मन्दिर प्रवेश गरेको निहुँमा कुटपिट भएको भन्दै पीडित सुनारले जिल्ला प्रहरी कार्यालय बाजुरामा बिहीबार जाहेरी दिएका छन् । जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।
यता बाजुराको त्रिवेणी नगरपालिकाकी उपप्रमुख कमला कुमारी जैसी न्यौपानेका अनुसार कुनै पनि मन्दिर दलितलाई प्रवेशमा रोक नलगाइएको बताएकी छन् ।
उनले सुनार कुटिएको विषयमा आफूलाई धेरै जानकारी नभएको समेत बताएकी छन् । ‘मैले पनि समाचारमै आएपछि थाहा पाएकी हुँ, धेरै कुरा त थाहा भएन तर दुई जनाले कुटपिट गर्ने बेला वडा अध्यक्ष पनि पक्राउ परे भन्ने सुनेकी छु ।’
उनले आफू घट्नास्थलभन्दा टाढा भएका कारण पनि धेरै जानकारी नभएको बताइन् । उपप्रमुख जैसीले सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्नुपर्ने बताएकी छन् ।
दलित अधिकार मञ्च कैलालीकी अध्यक्ष साबित्रा घिमिरेले कुनै न कुनै किसिमले अझै पनि दलितमाथि हिंसा तथा दुर्व्यवहार भइरहेको बताएकी छन् । २१ औँ शताब्दिमा पनि दलितलाई मन्दिर पसेकै निहुँमा कुटपिट गर्नु निन्दनीय रहेको उनले बताइन् ।
‘समाजले हेर्ने दृष्टिकोण नै परिवर्तन हुन् सकेको छैन, मान्छे भएर मान्छेलाई छुन नपाउनु मन्दिरमा प्रवेश गर्न नपाउनु भनेको जातीय विभेद मात्रै नभएर मात्रै अपराध पनि हो,’ उनले भनिन् । संविधान र कानुनमा छुवाछुत गर्नु हुँदैन भनेर उनीहरूको हक अधिकार सुनिश्चित गरिएको भए पनि अझै पनि त्यो कार्यान्वयन हुन नसेको उनले बताइन् । सोचमा परिवर्तन आउन नसक्दा यस्ता घट्नाहरू बढदै गइरहेको उनको भनाइ छ ।
यस्ता अपराध समाजमा धेरै घट्ने भए पनि तर दलितलाई मानिसहरूले हेप्ने हुँदा धेरै यस्ता घट्ना बाहिर आउन नसकेको उनले बताइन् । अहिले प्रहरी अनुसन्धानमै भए पनि सुनार कुटिनु र मन्दिरमा प्रवेशमा रोक लगाइएको घट्नाप्रति प्रहरीले सत्य तथ्य पत्ता लगाई दोषीलाई कानुनले तोके बमोजिमको सजाय मिल्नुपर्ने अध्यक्ष घिमिरेको भनाइ छ । कानुनले व्यवस्था गरे पनि तर त्यस अनुसारको सजाय नमिल्ने हुँदा पनि यस्ता घट्नाले प्रशय पाउने उनको बुझाइ छ ।
१३ असोज २०७९, बिहीवार २१:१७ बजे प्रकाशित































