कर्णाली प्रतिष्ठानका स्वास्थ्यकर्मीसहित आठ जनामा कोरोना पोजिटिभ
जुम्ला, असार १०
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल कार्यरत चार जना स्वास्थ्यकर्मीसहित आठ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
स्वास्थ्यकर्मी बाहेकका चार जना जिल्ला बाहिरको भएपनि जुम्लामा अन्य पेशा व्यवसायमा संलग्न भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ । आठ जनामध्ये दुई जना महिला छन् ।
मंगलबार राति गरिएको पीसीआर परीक्षणमा अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालका निर्देशक डा.मंगल रावलले जानकारी दिए ।
संक्रमणको थप जोखिम बढ्ने भन्दै अस्पतालले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । प्रतिष्ठानमा कार्यरत सबै स्वास्थ्यकर्मी र कर्मचारीहरुको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ । कर्मचारीहरुको पीसीआर परीक्षणसँगै कन्ट्याक्ट ट्रेसिङ पनि शुरु भएको प्रतिष्ठानले जनाएको छ ।
अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्लास्थित कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।
१० असार २०७७, बुधवार ०८:५० बजे प्रकाशित































