प्रतिनिधिसभाको बैठक आज, नागरिकता विधेयक फिर्ताको सन्देश पेस हुँदै
प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार फिर्ता गरेको नागरिकता संशोधन ऐन विधेयक र सन्देश पेस हुने सम्भावित कार्यसूची छ ।
संसद सचिवलायले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रपतिले विधेयक फिर्ता गरेको सन्देश पेस गर्ने विषय राखिएको छ । सो सन्देश पेस भइसकेपछि अब सरकारले त्यसलाई कसरी अगाडि बढाउँछ भन्ने महत्त्वपूर्ण हुनेछ ।
सरकारले विधेयक जस्ताको तस्तै फेरि पारित गराएर अगाडि बढाउन पनि सक्छ । अथवा राष्ट्रपतिले पुनर्विचार गर्नू भनेका दफाहरूमा संशोधन पनि गर्न सक्छ । प्रतिनिधिसभामा फेरि विधेयक पारित गरेर राष्ट्रियसभामा पठाउने र त्यहाँबाट पनि पारित गरेर फेरि राष्ट्रपतिकोमा पठाउन सक्छ ।
सत्तारुढ दलका नेताहरूले विधेयक फिर्तापछि दिएको प्रतिक्रियालाई आधार मान्ने हो भने सरकारले यो विधेयक जस्ताको तस्तै फेरि अगाडि बढाउने छ । सरकारको नेतृत्व गरेको कांग्रेस र सत्ता साझेदार दलहरू माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले विधेयक फिर्ता गरेकोमा असन्तुष्टि व्यक्त गरिसकेका छन् । उता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने विधेयक फिर्तालाई स्वागत गरेको छ ।
३१ साउन २०७९, मंगलवार ०८:१३ बजे प्रकाशित































