जंगली जनावरको आक्रमणबाट सुर्खेतमा २ जनाको मृत्यु
सुर्खेतको भेरिगंगा नगरपालिका ५, गेरवानीमा जंगली जनावरको आक्रमणबाट २ जनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका राम बहादुर चन्द र कबि वलीको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको हो ।
उनीहरूको शव घरदेखि करिव ५ सय मिटरको दुरीमा फेला परेको प्रहरीले जनाएको छ । विहान करिव ८ बजे घाँस काट्न निस्किएका दुवैजना अबेरसम्म नफर्केपछि आफन्तले अस्थाई प्रहरी चौकी बबईमा खबर गरेका थिए ।
आफन्तको खबरपछि नेपाल प्रहरी, बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बबईमा खटिएको देबदत्त गण र स्थानियवासीको संयुक्त टोलीले दुवै जनालाई जङ्गली जनावरले आक्रमण गरी मारेको अबस्थामा फेला पारेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
मृतक रामबहादुर चन्दको पेट र कबि वलीको घाँटिको भागको मासु खाएको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ । उनीहरूलाई कुन जनावरले आक्रमण गरेको हो भन्ने विषय अनुसन्धानपछि मात्रै थाहा हुने प्रहरीको भनाइ छ ।
२९ साउन २०७९, आइतवार २०:५३ बजे प्रकाशित































