मोहना पारीका बासिन्दालाई सधैँ डुङ्गाको भर
सीमानामा बग्ने मोहना नदीले कैलालीका अधिकांश ठाउँमा नेपाल र भारतको सीमा छुट्याएको छ । कैलारी गाउँपालिकाका तीन वटा गाउँ भने नदी पारी पर्छन् । मोहना नदीमा पुल नहुँदा पारीका बासिन्दाले वर्सायाममा वारि नेपाली बस्तीमै आउन जोखिमसँगै सास्ती खेप्नु पर्छ । बर्खे भेलसंङ्गै उर्लने नदी तर्न स्थानीयले डुङ्गामा जोखिमपूर्ण यात्रा गर्नुपर्छ । मोहनपुर, हौसलपुर र शिवरत्नपुर गाउँका बासिन्दालाई बर्खा याममा आफ्नै देशका अन्य बस्ती पुग्न सहज छैन ।
यी तीन गाउँका बासिन्दालाई नदी कटानको जोखिम मात्रै छैन उनीहरूलाई बर्खा याममा वारी पारी गर्न समेत समस्या छ । स्कुलका बिधार्थीदेखि दैनिक मजदुरीका लागि गाउँ बाहिर जानेलाई जोखिम मोलेर दैनिक डुङ्गाको यात्रा गर्नुपर्ने बाध्यता छ । कैलारी गाउँपालिका–३ शिवरत्नपुरका देवा चौधरी अहिले कक्षा १० मा पढ्छन् । कक्षा ५ सम्म घर नजिकैको श्री बिशेस्वर आधारभूत विद्यालयमा पढेका उनी ६ कक्षादेखि नदी वारि हसुलीयामा रहेको दीपेन्द्र माध्यमिक विद्यालयमा पढ्न जान्छन् । ‘बर्खा लागेपछि डुङ्गामै आउने जाने गरेका छौ, बर्खे बादीले उर्लेको भेलमा नदी पार गर्न डर लाग्छ तर जानुपर्ने बाध्यता छ,’ उनले भने । गाउँमा ५ कक्षा सम्म मात्रै पढाइ हुने भएपछि गाउँ बाहिर हसुलीया गएर पढ्नुपर्ने उनको बाध्यता हो । हिउँदका बेला काठे पुलबाट विद्यालय गए पनि तर बर्खा याम सुरु भएपछि डुङ्गाको साहारामा नदी तरेर विद्यालय जानुपर्ने देवाले बताए । नदीमा अत्यधिक बाढी आएको समयमा डुङ्गा चलाउन नसकिने भएकाले विद्यार्थीहरू विद्यालय जान पाउँदैन ।

विद्यार्थीजस्तै स्थानीय पनि डुङ्गाकै भरमा जोखिम मोलेर ओहोरदोहोर गर्छन् । शिवरत्नपुरको खल्ला टोलका देशराम चौधरीले सधैँ डुङ्गामै आउने जाने गरेको बताए । खेतीका समयमा होस या मजदुरी गर्न होस् नदी वारी नआई नहुने उनी बताउँछन् । ‘दैनिक मजदुरी गर्न गाउँ भन्दा बाहिर जानै प¥यो, नदी वारी रहेका गाउँमा कुनै काम मिल्दैन काम गर्न भारत अथवा धनगढीकै भर पर्नुपर्छ ।,’ उनले भने । अन्य गाउँमा जान पनि नदी तर्नै पर्ने बाध्यता रहेको उनको भनाई छ । बर्खामा धेरै नै वर्षा भएपछि डुङ्गा पनि चल्न छोड्छ । बाढीले नदी वारपार भएपछि मोहनपुर, हौसलापुर र शिवरत्नपुर गाउँका मानीसलाई बिरामी भएपछि पनि आउन जानको समस्या हुने गरेको उनी बताउँछन् । त्यहाँका स्थानीयलाई डुङ्गा बन्द भएका समयमा निकै समस्या हुने गरेको छ । उनीहरूले खाद्यान्न तथा उपचारका लागि भारतको भर पर्नुपर्छ । गाउँ नजिकको भारतीय बजार चन्दन चौकीको उनीहरूले भर पर्नुपर्ने बाध्यता छ ।
मोहना नदीमा विगत ४ बर्षदखि सन्तराम चौधरी डुङ्गा चलाउँदै आएका छन् । ‘बिहान ६ बजेदेखि साँझ ६ बजे सम्म डुङ्गा सञ्चालन हुन्छ, उनले भने, एक पटकमा बढीमा ३५ जनासम्मलाई नदी वारपार गराउँछौ ।,’ पुल नबने सम्म यसरी जोखिम मोलेर डुङ्गा चलाउनुपर्ने बाध्यता रहेको उनको भनाई छ । गाउँपालिकाबाट सन्तराम र महेश चौधरी २ जनाले मासिक १५ हजार पाउने गरी बर्खा याममा डुङ्गा चलाउने गरेका छन् । असोज सम्मै डुङ्गा सञ्चालन हुने भएको भए पनि अत्यधिक बाढी आएपछि भने बन्द हुने गरेको छ । तीन वर्ष पहिले मोहना नदीमा झोलुङ्गे पुल बन्ने भने पनि तर त्यो काम अझै सम्म पुरा भएको छैन । यही असारको दोस्रो साता आएको बाढीले पुलको एउटा पिल्लर पनि बगाइसकेको छ ।
नदीमा पुल नहुँदा त्यहाँका बासिन्दा बर्खा याममा निकै कष्टकर जीवन बिताउन बाध्य छन् । बर्खामा बाढीले उर्लने नदी तर्ने विकल्प नभएपछि उनीहरू नेपाली बस्तीसँग सम्बन्ध विच्छेदको अवस्थामा पुग्छन् । नदी तरेर वारी आउन समस्या हुने भएकाले दैनिक उपभोग्य बस्तु किनमेल, सामान्य औषधी उपचारलगायत कामका लागि भारतीय बजारमा निर्भर हुनुको विकल्प नरहेको स्थानीय बताउँछन् ।

नदीमा पुल नभएकाले बर्खा यामका धेरै दिन गाउँमै थुनिएर बस्नुपर्ने बाध्यता रहेको स्थानीय संगीता चौधरीले बताइन् । ‘नदीमा बढी बाढी आएको बेला गम्भीर बिरामी र सुत्केरीलाई पनि अस्पताल लैजान सक्दैनौँ ।’ चौधरीले भनिन्, ‘सरकारले हाम्रो बस्तीको विकासलाई ध्यान दिएन, त्यस्ता दुखका बेला हामीलाई नेपाली नै होइनौँ जस्तो महसुस हुन्छ ।,’ नदी वारी गाउँपालिका केन्द्रसमेत रहेको हसुलिया बजार पर्छ ।
धनगढी पनि धेरै टाढा छैन । तर नदीमा बाढी आउँदा स्थानीय बासिन्दा बिरामी भएको समय उपचारका लागि यी बजार सहज रूपमा आउन पाउँदैनन् । अत्यावश्यक काम पर्दा नदीमा बाढी घटेको बेला मात्र वारी आउँछन् । वर्षौँअघि बस्ती बसे पनि सरकारले झोलुङ्गे पुलसमेत नबनाइदिएको उनीहरूको गुनासो छ ।

नदी पारीको अर्को सीमा बस्ती हौसलपुरको अवस्था भने मोहनपुर र शिवरत्नपुरभन्दा अलि फरक छ । हौसलपुर भारतीय गाउँसँगै जोडिएको छ । उनीहरू उपचार, अध्ययन, किनमेललगायत सबैजसो कारोबार र व्यवहारमा पूर्णतः भारत निर्भर छन् । नेपाली बस्ती र बजार प्राय उनीहरू आउँदैनन् । गाउँमा विद्यालय नभएपछि बालबालिका भारतीय विद्यालय जाने गरेका छन् । उनीहरूले हिन्दी भाषा नै बोल्ने गरेका छन् । आफ्नै नेपाल तिरका गाउँमा आउँ जाउँ सहज रूपमा गर्न नपाएपछि उनीहरू भारत तिरकै गाउँसंग बढी नजिक छन् ।
शिवरत्नपुर गाउँ जोड्न मोहना नदीमा प्रदेश सरकारको बजेटमा झोलुङ्गे पुल निर्माणको काम सुरु भएको छ । पुल बन्ने तिर नदी कटान तीव्र रूपमा भएपछि एक तिरको पिल्लर नै बगाएर लगेको छ ।
कैलारी गाउँपालिकाका अध्यक्ष राज समझ चौधरीले पुल बन्नै लागेको भए पनि नदी कटानले एक तिरको पिल्लर बगाएको बताए । ‘शिव रत्न र खोनपुर जोड्ने पुलको एक तिरको पिल्लर नदीले बगायो, मोहनपुरमा भने पुलको काम सुरु भएको भए पनि बर्खाले रोकिएको छ ।’, अध्यक्ष चौधरीले भने । झोलुङ्गे पुल जति सक्दो छिट्छै सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए ।
हौसलपुर जोड्ने पुल निर्माणका लागि सङ्घ सरकारलाई आग्रह गर्दै आएको गाउँपालिकाले जनाएको छ । ‘सबै भन्दा बढी भनेको यहाँ नदी कटानको समस्या हो, जव सम्म नदी कटान रोक्न सक्दैनौ तब सम्म हाम्रो समस्या समाधान हुन सक्दैन,’ अध्यक्ष चौधरीले भने । पुल निर्माण भयो भने यहाँका बासिन्दालाई केही भएपनि सहज हुने उनको भनाई छ ।

सबै भन्दा बढी समस्यामा शिवरत्नपुरमा रहेको बताउँदै उनले ८६ घरधुरीमा १६ घरपरिवार नै विस्थापित भएको बताए । बस्ती नै सार्नु बाहेक अन्य कुनै पनि उपाय नै नभएको उनको भनाई छ । मोहनपुरमा ९६ र हौसलपुरमा २८ घरधुरी रहेका छन् । मोहनपुर दशगजा क्षेत्रमै भएको हुँदा बेला बखतमा भारतीय पक्षबाट दवाव आउने गरेको उनले बताए । मोहनपुर बोर्डरमा भएको हुँदा कारणले प्रत्येक बर्ष एसएसबीले सताउने गरेको गाउँपालिका अध्यक्ष चौधरीले बताए । यसका लागि समाधान के हुन सक्छ त भनेर छलफल गरिरहेको उनको भनाई छ ।
डुवान र कटानको समस्या रहेकाले शिवरत्नपुर भने बस्ती स्थानान्तरण आवश्यक देखिएका उनले बताए । ‘कि ठुलो बजेटमा तटबन्ध बनाइनु पर्छ, नभए बस्ती सार्नुको विकल्प छैन ।’ अध्यक्ष चौधरीले भने, ‘के गर्ने भनेर संघ र प्रदेशसँग समन्वय गरिरहेका छौँ ।’ दुई महिनाका लागि बिस्थापित भएका १६ घरपरिवारलाई खुला चौरमा राखिएको भए पनि स्थायी रूपमा उनीहरुलाई कहाँ राख्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ ।
२९ साउन २०७९, आइतवार १७:०० बजे प्रकाशित































