बाढीले बस्ती नै बगाएपछि शिवरत्नपुरका १६ घरधुरी टेन्टमा बस्न बाध्य
तीन साताअघि वर्षासंगै मोहना नदीमा आएको बाढीले कैलालीको कैलारी गाउँपालिका–३ स्थित शिवरत्नपुरको एक बस्ती विस्थापित भएको छ । बाढीले १६ घर बगेपछि स्थानीय अहिले अहिले त्रिपाल टाँगेर चौरमा बसेका छन् । उनीहरुका घर मात्रै बगेनन् बस्ती वरपरको खेतीबारी पनि पुरै बगेको छ । घरसहित लगाएकै धानखेती बाढीले बगाएपछि उनीहरु थप चिन्तामा परेका छन् ।
मोहना नदीले धार परिवर्तन गरेपछि बस्ती सखाप हुन पुगेको स्थानीय फुलदेवी चौधरीले बताइन् । उनले असार १५ गतेदेखि आएको पानीले नदी किनारको माटो काट्न थालेपछि बाढी बस्तीमा पुगेको बताइन् । ‘हाम्रो घर, खेत सबै डुबायो,’ उनले भनिन्, ‘अब खुला चौरमा आउन बाध्य भयौँ ।’ साना बालबालिकासँग चुहिने टेन्टमा बस्न बाध्य हुनुपरेको उनले बताइन् । घामबाट बचाए पनि पानीबाट बच्न गाह्रो भएको उनको भनाई छ ।

त्यहाँका स्थानीय काम गर्नलाई भारत अथवा धनगढी बजारमा मजदुरी गर्दै आएका छन् । तर बर्खा लागेपछि त्यो काम पनि रोकिने गरेको उनीहरू बत्ताउँछन् । अब स्थानीयलाई बर्खा लागेपछि के काम गर्ने चिन्ताले सताउन थालेको छ ।
खल्ला टोलका स्थानीय कृष्ण चौधरीको करिब १५ कट्ठा जमिन नदी कटान गरेपछि के खाने भन्ने चिन्ताले सताएको छ । ‘भएको घर बाढीले बगाउन थालेपछि खाली चौरमा बस्न बाध्य भयौं,’ उनले भने, ‘सरकारले टेन्ट दिए पनि चुहिने भइसकेको छ ।’ वर्षभरि खान पुग्ने धान खेती नै बाढीले बगाएपछि अब के खाने र कहाँ जाने भन्ने चिन्तामा परेको उनी बताउँछन् । बचेको खेत पनि कहिले बगाउँछ भन्ने अर्को डर थपिएको उनले बताए ।

जानकीदेवी चौधरीले घर खेत नै बगाएपछि टेन्ट मुनी बस्न बाध्य भएको बताइन् । ‘नदीले कटान गर्दा गर्दै १५ कट्ठा जमिन बगायो घर पनि बगाउन थालेपछि सुरक्षित स्थान खोज्दै खुला चौरमा आइपुग्यौं,’ उनले भनिन् । जग्गा र घरबाँसनै नरहेपछि यसरी टेन्टमा बस्नुपरेको उनको दुखेको छ । असारमा आएको बाढीले यस्तो समस्या झेल्नुपर्ने बताइन् । बाढीले गाउँ नै बगाएको उनले बताइन् । आफूहरुलाई सुरक्षित स्थानमा सारिदिनुपर्ने उनको माग छ ।
शिवरत्नपुर वडा नम्बर ३ खल्ला टोलका भलमन्सा मानबहादुर चौधरीले गाउँ नै डुबाएपछि खुला चौरमा बस्न बाध्य भएको बताए । ‘पुरानो घर खेत नै बगाएपछि यहाँ चौरमा आउन बाध्य भएका छौ,’ उनले भने, ‘बाढीले १६ घरपरिवार रहेको बस्ती नै डुबायो, हामी घरविहीन भयौं ।’ सरकारले टेन्ट उपलब्ध गराएको भए पनि अहिले त्यो चुहिने भइसकेको उनले बताए ।

भलमन्सा चौधरीले घामपानीका कारण टेन्ट जीर्ण तथा चुहिने बनिरहेकाले सकेसम्म चाँडै सुरक्षित स्थानमा सार्न सरकारलाई आग्रह गरे । असारको अन्तिम साता बाढीपीडितहरुलाई सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट टेन्टको व्यवस्था गरिएको थियो ।
कैलारी गाउँपालिका वडा नम्बर –३ का वडा अध्यक्ष सन्तराम चौधरीले १६ घर परिवारलाई हालको लागि खुला चौरमा टेन्ट लगाएर बस्ने व्यवस्था मिलाइएका बताए । ‘अहिलेलेलाई टेन्टमै व्यवस्था गरिएको छ,’ उनले भने, ‘खल्ला टोलका स्थानीयलाई २ महिनाको लागि अस्थायी टेन्ट लगाएर सुरक्षित स्थानमा सारेका छौं । उनले पछि स्थायी रूपमा बसोबासको लागि पहल गर्ने उनले बताए ।

‘अहिले सारिएको स्थानमा पानी पस्दैन, तर वरिपरि नदी भएका कारण उहाँहरू बिचमा फस्ने हुन सक्छ,’ वडाध्यक्ष चौधरीले भने, ‘उद्धारका लागि टोली पनि तयारी अवस्थामा राखेका छौ ।’
उनका अनुसार नदीमा पुल निर्माणको लागि पहल गरिएको भए पनि अहिलेसम्म बन्न सकेको छैन । बाढी आयो भने त्यहाँका स्थानीय फस्ने जोखिम छ । त्यसका लागि अहिले नै पुल बन्न नसके पनि विभिन्न उद्धारका टोलीहरू तयारी अवस्थामा रहेको वडा अध्यक्ष चौधरीको भनाई छ ।
२५ साउन २०७९, बुधवार १२:२२ बजे प्रकाशित































