कैलारी गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक
कैलालीको कैलारी गाउँपालिकाले आर्थिक वर्ष २०७८.०७९ को सार्वजानिक सुनुवाई तथा आर्थिक वर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कैलारी गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयको आयोजना र केर्नी मिडिया प्रा.लि. धनगढीको सहजीकरणमा गाउँपालिकाले कार्यक्रम गरेको हो ।
कार्यक्रममा गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले गाउँपालिकाले चालु आर्थिक वर्षमा गरेका योजनाहरु र आगामी आर्थिक वर्षका योजनाहरु सार्वजनिक गरेका थिए ।
चालु आर्थिक वर्षमा गाउँपालिकाको वित्तिय प्रगतिअनुसार असार २५ गतेसम्म कुल निकासा रकम ६६ करोड ९० लाख ६८ हजार रुपैयाँ रहेको छ भने असार २५ गते सम्मकुलखर्च रकम ६० करोड ८१ लाख ५५ हजार रुपैयाँ खर्च भएको सूचना अधिकारी कलेले बताए ।
सामाजिक, आर्थिक साँस्कृतिक, पूर्वाधार विकास तथा विपद व्यवस्थापन, कैलारीवासीको जिवन रुपान्तरणका लागि समन्वय, सहकार्य तथा सुशासन भन्ने नारासहित आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आगामी वर्षका लागि कुल ६२ करोड ७५ लाख १५ हजार रुपैयाँको बजेट ल्याएको छ ।
बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सूचना अधिकारी कलेलले गाउँपालिकामा आगामी वर्षका लागि संघीय सरकारबाट ५४ करोड ३३ लाख १० हजार रुपैयाँ र प्रदेश सरकारबाट एक करोड ७७ लाख ६१ हजार रुपैयाँ प्राप्त भएको बताए ।
गाउँपालिकाले आगामी वर्ष पूर्वाधार विकासका लागि तीन करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ भने आर्थिक विकास समितिका लागि दुई लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।
यस्तै वन वातावरण तथा विपद व्यवस्थापनका लागि दुई करोड १५ लाख रुपैयाँ विनियोजन गरेको छ भने सामाजिक विकासका लागि तीन करोड ९० लाख रुपैयाँ र सुशासन तथा संस्थागत विकासका लागि ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरुले छाडा पशुचौयाको व्यवस्थापन, तटबन्ध निर्माण, खानेपानीको व्यवस्थापन र विद्यालय व्यवस्थापनलगायतका माग राखेका थिए ।
कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले सबै समस्याको समाधान गरेर अगाडि बढ्ने बताएका छन् । कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरीले राखेकी थिइन् ।
२७ असार २०७९, सोमवार २०:२७ बजे प्रकाशित












