देउवा, पौडेल र नेपालको जिल्लामै भएन दलहरूबीच तालमेल
स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल गर्नुपर्ने निर्णय भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाकै जिल्लामा तालमेल हुन् सकेन् । १७ चैत २०७८ मा निर्वाचनमा तालमेलको प्रस्ताव उनैले गरेका थिए । अन्ततः तालमेलका लागि गठबन्धन दलहरूले समिति नै बनाए ।
निर्वाचन तयारी तथा अनुगमन समिति नाम दिएको समिति संयोजक रामचन्द्र पौडेल हुन् । र, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पनि तालमेलको जोडबलकर्ता हुन् ।
तर, यी तीनै जना शीर्ष नेताको गृह जिल्लामै गठबन्धन भत्कियो । तालमेल भएन । कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले एक्लाएक्लै मनोनयन दर्ता गराए ।
देउवाको डडेल्धुरा, पौडेलको तनहुँ र नेपालको रौतहट गृह जिल्ला हो । ३ शीर्ष नेताको गृह जिल्लामा दलहरूबीच तालमेल नहुनुलाई कतिपयले अर्थपूर्ण रूपमा हेरेका छन् ।
गठबन्धनको अर्को दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला चितवनमा भने तालमेल भएको छ । यद्यपि, त्यहाँ कांग्रेसबाट सहमतिविपरीत बागी उम्मेदवारी परेको छ ।
१३ वैशाख २०७९, मंगलवार १६:०४ बजे प्रकाशित































