सर्लाहीको फुलजोरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा आइतबार यात्रु बाहक बस पल्टिँदा चार जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा २५ जनाभन्दा बढी यात्रु घाइते भएको प्रारम्भिक जानकारी आएको छ । वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रु वाहक बस आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरस्थित फुलजोर खोलाको बार भत्काउँदै खोलामा खस्दा दुर्घटना भएको हो ।
गुडिरहेको बस एक्कासि खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदारमान दोङले बताए । दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन । मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र दुर्घटनामा घाइते भएकाहरुको लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
दुर्घटनाबारे थप विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।
१३ चैत २०७८, आइतवार १३:३३ बजे प्रकाशित































