सुदूरपश्चिमका स्थानीय तहमा पनि तोकिए निर्वाचन अधिकृत
सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका ८८ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेशका ९ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत र ८८ वटा स्थानीय तहमा निर्वाचन अधिकृत तोकिएका हुन् ।
कैलालीमा जिल्ल अदालतका न्यायाधीश जयानन्द पनेरु मुख्य निर्वाचन अधिकृत तोकिएका छन् भने कञ्चनपुरमा न्यायाधीस मदनबहादुर धामी, बझाङमा बिष्णुप्रसाद अवस्थी, र बैतडीमा तिलकबहादुर कार्की मुख्य निर्वाचन अधिकृत तोकिएका छन् ।
दार्चुलामा कोमलप्रसाद आचार्य, डोटीमा विदुर काफ्ले, डडेल्धुरामा हरिप्रसाद शर्मा, अछाममा नवीनकुमार जोशी र बाजुरामा माधवप्रसाद घिमिरे मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् ।
२०७९ वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन सञ्चालन र व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी निर्वाचन अधिकृतको हुन्छ ।
कैलालीका १३ वटा पालिकामा को कहाँ ?
कैलालीको धनगढी उपमाहानगरपालिमा जिल्ला न्यायाधीस जयानन्द पनेरु, गोदावरी नगरपालिकमा जिल्ला न्यायाधिबक्ता राजेन्द्र सिंह भण्डारी, गौरीगंगा नगरपालिकामा इजलास अधिकृत निराजन पाण्डे निर्वाचन अधिकृत तोकिएका छन् । त्यस्तै घोडाघोडी नगरपालिकामा उपन्यायाधिवक्ता भानदेव जोशी, भजनी नगरपालिकामा उपन्यायाधिबक्ता लक्ष्मीनारायण दाहाल, लम्की चुहा नगरपालिकामा सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरी निर्वाचन अधिकृत तोकिएका छन् ।
टिकापुर नगरपालिकामा उपसचिव टिकाराम वाग्ले, चुरे गाउँपालिकामा श्रेस्तदार राइभान कुन्जेडा, मोहन्याल गाउँपालिकामा अधिकृत दशौ कृष्णदत्त भट्ट, जोशीपुर गाउँपालिकामा निर्देशक शिवराज भट्ट, बर्दगोरिया गाउँपालिकामा उपसचिव बद्रीप्रसाद पाठक, कैलारी गाउँपालिकामा उपसचिव कृष्णप्रसाद नेपाल र जानकी गाउँपालिकामा उपसचिव विश्वदिप बेस्रा निर्वाचन अधिकृत तोकिएका छन् ।
कञ्चनपुरका ९ वटा पालिकामा को कहाँ ?
भीमदत्त नगरपालिकामा कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश मदनबहादुर धामीलाई निर्वाचन अधिकृत तोकेको छ । उच्च अदालत महेन्द्रनगर इजलासका रजिष्ट्रार नरेन्द्रबहादुर बुढालाई कृष्णपुरमा खटाएको छ । पुनर्वास नगरपालिकामा गृहमन्त्रालयका उपसचिव किरण जोशी, बेलडाँडी गाउँपालिकामा भूमिसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका प्रमुख सुरेन्द्र केसीलाई निर्वाचन अधिकृत तोकेको छ ।
त्यस्तै बेलौरी नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरका जिल्ला न्यायाधिवत्ता तारासिंह धामी, दोधारा चाँदनीमा वैदेशिक रोजगार विभाग काठमाडौंका निर्देशक डम्बरबहादुर सुनवारलाई खटाएको छ ।
यसैगरी, लालझाँडी गाउँपालिकामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव कुलप्रसाद खनाल, बेदकोटमा जिल्ला अदालतका स्रेस्तेदार जयन्ती अवस्थी भट्ट, शुक्लाफाँटा नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत ताराप्रसाद जोशीलाई निर्वाचन अधिकृत बनाएको छ ।
निर्वाचन कार्यक्रमअनुरुप उम्मेदवारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, निर्वाचन चिन्ह दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने निर्वाचन अधिकृतको मुख्य जिम्मेवारी हो ।
१३ चैत २०७८, आइतवार १५:५२ बजे प्रकाशित































