अपहरण तथा बन्धक बनाएको नाटक गर्ने एक युवक धनगढीबाट पक्राउ
आफुलाई अज्ञात व्यक्तिहरुले अपहरण गरी अज्ञात स्थानमा बन्धक बनाई राखेको भनि परिवार र प्रहरीलाई झुक्याएका एक युवकलाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ । डोटी आदर्श गाउँपालिका –३ घर भई हाल धनगढी उप–महानगरपालिका –५ हसनपुर बस्ने बर्ष २० का रघुनाथ ओझालाई जिल्ला प्रहरी कार्यलय कैलालीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उप–महानगरपालिका वडा नं. १ बाट युवकलाई नियन्त्रणमा लिइएको हो ।
उनी आफू अध्ययनरत रहेको स्थान चितवनबाट दाईको बिहेमा जानु छ भनेर गत महिनाको माघ २० गते चिवतनबाट घरपरिवारलाई खबर गरेकोमा सोही मितिबाट सम्पर्कविहीन भएका थिए । त्यसपछि उनले घरपरिवारसंग म्यासेन्जरमा भिडियो कल गरी आफुलाई अज्ञात व्यक्तिहरुले बन्धक बनाएको भनि झुटो खबर गरेको प्रहरीले जनाएको छ ।
प्रहरी अनुसन्धानबाट उनी सम्पर्कविहीन भएकै दिन माघ २० गते आफ्नो प्रेमीकासँग नारायणघाटबाट बुटवल हुँदै पोखरा गएर बसेको खुलेको छ । उनले साथमा रहेको रकम सकिएपछि पोखराबाट धनगढी तर्फ आएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ । उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
११ फागुन २०७८, बुधवार १९:२४ बजे प्रकाशित































