होल्डिङ सेन्टरका तीनवटा भवन तयार, नगरप्रमुख वडद्वारा निरीक्षण
कोरोना संक्रमितलाई राख्नका लागि धनगढी उपमहानगरपालिकामा निर्माणधिन होल्डिङ सेन्टरका तीनवटा भवन तयार भएका छन् । उपमहानगरपालिकाको वडा नम्बर ३ बडहरास्तित सामुदायिक वन क्षेत्रमा बनिरहेको १ हजार बेड क्षमताको होल्डिङ सेन्टरका तीनवटा भवन निर्माण सम्पन्न भएका हुन् ।
निर्माण सम्पन्न भएका भवनलाई सञ्चालनमा ल्याउन सकिने अवस्था भइसकेको कोभिड समिति धनगढीका संयोजक नारायाण बरालले बताए । होल्डिङ सेन्टरमा पानी र विजुलीलाई थप व्यवस्थित गर्नुपर्ने अवस्था रहेको उनले बताए । उनका अनुसार तयार भएका तीनवटा भवनमा बेड समेत राखिसकिएको छ ।
तयार भएका भवनलगायत निर्र्माणधिन होल्डिङ सेन्टरको शनिबार नगरप्रमुख नृपबहादुर सुनारले निरीक्षण गरेका छन् । होल्डिङ सेन्टरको निरीक्षण गर्दै नगरप्रमुख वडले निर्माण भएका तीनवटा भवनमा विरामी ल्याएर राख्न सकिने स्थिति बनिसकेको र त्यसका लागि पानीको व्यवस्था गर्नुपर्ने बताए ।
तीनवटा भवनमा डेढसय वटा बेड राखिसकिएको जानकारी दिए । ‘तीनवटा भवन तयार भएर सञ्चालनमा ल्याउन सकिने स्थिति बनिसकेको छ,’ उनले भने, ‘अब पानी र विजुलीको व्यवस्थापन गरेर विरामी ल्याएर राख्न सकिन्छ ।’
उनले संक्रमण बढ्दै गएमा तयार भएका भवनमा संक्रमितलाई राख्दै जानुपर्ने बताए । ‘यदि संक्रममित बढ्दै गएमा विरामीलाई पनि राख्दै जानुपर्छ, निर्माण कार्य पनि हुँदै गर्छ,’ उनले भने, ‘बाउन्ड्री लगाउनेलगायतका काम पनि हुँदै गर्छन् । पानी र विजुली व्यवस्थापनका लािग लागिरहेका छौं ।’ उनले होल्डिङ सेन्टरमा आवश्यक भान्छाघर र सौचालय पनि सोही अनुसार बनिरहेको बताए ।
संघीय सरकार अन्तर्गत निर्माण भइरहेको होल्डिङ सेन्टर भदौ मसान्तसम्म निर्माण गरिसक्नुपर्ने भएपनि थपिएको पुस मसान्तसम्म पनि सकिएन । नेपाल सरकारको २८ करोड ८१ लाख लागतमा बनिरहेको सो होल्डिङ सेन्टरको गत असार ३ मा ठेक्का सम्झौता भएको थियो ।
निर्माण कम्पनी श्री हनुमान कन्स्ट्रक्सनका इन्जिनीयर विक्रम गैरेले आर्थिकलगायतका समस्या नआए यही माघ मसान्तसम्म काम सकिने बताए । बजेट निकासामा ढिलाइ हुँदा आवश्यक सामान खरिद गर्न समस्या भइरहेको निर्माण कम्पनीको भनाई छ ।
होल्डिङ सेन्टरमा २२ वटा क्वारेन्टाइन, २२ वटा शौंचालय र १५ वटा डाइनिङ हलसहितको भान्सा बन्नेछ । रोजगारीको सिलसिलामा भारत गएर स्वदेश फर्किने नेपाली कामदारलाई राख्ने उद्देश्यले एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गर्न लागिएको हो । कोरोना संक्रमणको दोस्रो लहरमा पनि त्यस्तै समस्या भएको थियो ।
नाकामा होल्डिङ सेन्टर नहुँदा भारतबाट फर्केका नेपाली कामदारलाई व्यवस्थापन गर्न समस्या भएपछि होल्डिङ सेन्टर बनाउनु पर्ने माग गरिएको थियो । यस्तै कञ्चनपुरको गड्डाचौकीमा पनि नेपाली सेनामार्फत होल्डिङ सेन्टरको निर्माण कार्य भइरहेको छ ।
९ माघ २०७८, आइतवार ०८:५३ बजे प्रकाशित












