punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

युवक हत्या प्रकरण : पक्राउ परेका नवराजले पनि स्वीकारे अपराध, शव एक हप्तादेखि अस्पतालमै

Chaupati
safha napa

बैतडीको सूर्नया गाउँपालिका–६ का ३० वर्षीय डम्मर अवस्थीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएका नवराज अवस्थीले पनि अपराध स्वीकार गरेका छन्।सोही ठाउँका नवराजलाई प्रहरीले शनिबार नियन्त्रण लिइएको थियो। यसअघि हत्यामा संलग्न रहेका सोही ठाउँका २३ वर्षीय हरिश अवस्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनले हत्यामा नवराजको पनि संलग्नता रहेको प्रहरीलाई बयान दिएका थिए। बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाका अनुसार नवराजले पनि अपराध स्वीकार गरिसकेका छन्। उनले भने,‘ नवराजमाथि शंका लागेर नियन्त्रणमा लिएका थियौं सोधपुछ गर्दै जाँदा उनले अपराध स्वीकारेका छन्।’

नवराजमाथि आज कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ। यसअघि प्रहरी हिरासतमा रहेका हरिशमाथि भने ७ दिनको म्याद थपेर अनुसन्धान जारी रहेको जनाइएको छ।

गएको मंसिर १४ गतेदेखि हराइरहेका डम्मरको शव गत पुस २८ गते घर नजिकैको धुरा जंगलमा १५ फिट गहिरो गुफामा गाडेको अवस्थामा फेला परेको थियो।

यसअघि डम्मरको हत्यामा संलग्न रहेका हरिशले आफू विप्लव माओवादीबाट अपहरणमा परेको नाटक गरेपछि घटनाको पर्दा खुलेको हो। उनले डम्मरको हत्या गरेको स्वीकार गरिसकेका छन्। उनले दिएको लोकेसनकै आधारमा डम्मरको शव फेला परेको थियो।

शव अस्पतालमै

डम्मरका आफन्तले भने उनको हत्यामा अरुको पनि संलग्नता रहेकाले सबै दोषी पक्राउ नपर्दा सम्म शव नउठाउने बताएका छन्। डम्मरको हत्यामा संलग्न सबैको पहिचान भएमात्रै शव बुझ्ने मृतकका दाई तीर्थराज अवस्थीले बताए।

डम्मरको शव पोष्टमार्टम पछि जिल्ला अस्पतालमै राखिएको छ। डम्मर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सदस्य भएकाले उनको पार्टीले समेत शव बुझ्न इन्कार गरेको छ।

घटनाका दोषीलाई कानुनी दायरमा लिएर कारबाही गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने र शहीद घोषणा गर्नुपर्ने नेकपाले माग राख्दै उक्त पार्टीका कार्यकर्ताहरूले गाउँपालिका केन्द्रमा प्रदर्शन गरेका छन्।


४ माघ २०७८, मंगलवार १५:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु