प्रेस युनियन र पत्रकार महासंघका अध्यक्षद्वय सिग्देल र पोखरेललाई कोरोना संक्रमण
नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल पत्रकार महासंघको कपिलवस्तुमा भएको दोस्रो बैठक सकेर फर्किएपछि महासंघका अध्यक्ष पोखरेललाई शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। महासंघको बैठकमा सहभागी अन्य केही पत्रकारहरुलाई पनि कोरोना पोजेटिभ देखिएको अध्यक्ष पोखरेलले जानकारी दिए।
त्यसैगरी नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दिलिप पौडेल पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। युनियनका केन्द्रीय सदस्य पौडेलले भने बुस्टर डोज लगाइसकेपछि कोरोना पोजेटिभ देखिएको हो।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिलेसम्म जोगिए पनि कोभिड विरुद्धको तेस्रो खोप (बुष्टर डोज) लगाएपछि अन्ततः कोभिडको फन्दामा परियो। बुस्टर डोजले शरिरमा चर्को दुखाई भयो। त्यसपछि पीसीआर जाँच गरेको रिपोर्ट पोजेटीभ। शरीर दुखाइबाहेक स्वास्थ्य सामान्य छ।’
पत्रकार इन्द्र रिजाल पनि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। अन्य विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।
सरकारले पत्रकारसहित फ्रन्टलाइनरहरुलाई बुस्टर डोज लगाउन सुरु गरेको छ।पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएको छ। सोमबार एकैदिन देशभर ६ हजार ७३४ जनामा कोरोना पोजेटिभ देखिएको थियो।
४ माघ २०७८, मंगलवार १५:३३ बजे प्रकाशित































