विनोद चौधरीविरुद्धको उजुरी खारेज, केन्द्रीय सदस्य बन्न योग्यता पुगेको ठहर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको क्रियाशील सदस्यतासम्बन्धी उजुरी खारेज भएको छ ।१४ औं महाधिवेशनमा खुल्ला मधेशी केन्द्रीय सदस्यतर्फ छैटौं नम्बरमा रहेर पराजित उम्मेदवार डा.सुभाषचन्द्र यादवले दोस्रो सर्वाधिक मतसहित निर्वाचित केन्द्रीय सदस्य चौधरीको उम्मेदवारी नै विधानविपरीत रहेको भन्दै कांग्रेसको निर्वाचन समितिमा उजुरी दिएका थिए ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले गत पुस ३० गते सो उजुरी उपर निर्णय गर्दै दाबी नपुग्ने ठहर गरेको हो । समितिको निर्णयमा संयोजक गोपालकृष्ण घिमिरेसहित सबै सदस्यहरुको हस्ताक्षर रहेको छ ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य मधेशी खुल्ला पाँच पदका लागि भएको निर्वाचनमा २३ जना उम्मेदवारमध्ये निर्वाचित भएका ५ जनापछि छैटौ बढी मत प्राप्त गरी निर्वाचित हुन नसकेका उम्मेदवार डा. सुभाषचन्द्र यादवको उजुरी केन्द्रीय निर्वाचन समितिले तोकेको समय सीमाभित्र पर्न नआएको र निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइ निज विनोदकुमार चौधरी निर्वाचित भएपश्चात निवेदकको उजुरी परेकोले निवेदकको उजुरी उपर कुनै निर्णय गरिरहनुपर्ने देखिएन । उजुरी खारेज हुने ठहर्छ’, निर्वाचन समितिको निर्णयमा उल्लेख छ ।
समितिले कांग्रेस विधान र निर्वाचन निर्देशिकाअनुसार क्रियाशील सदस्यताको निरन्तरताको अवधि प्रमाणित गर्ने वैधानिक अधिकार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिवलाई रहेको र मुख्यसचिवले २०७८ मंसिर २४ मै चौधरीको सदस्यताको अवधी र योग्यता पुग्ने प्रमाणित गरेको समेत स्पष्ट पारेको छ ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरी १४ औं महाधिवेशनमा खुल्ला मधेशी केन्द्रीय सदस्यतर्फ निर्वाचित हुने ५ जनामध्ये दोस्रो सर्वाधिक मत ल्याएर विजयी भएका थिए ।
४ माघ २०७८, मंगलवार १४:०० बजे प्रकाशित































