शुक्लाफाँटाको घाँसे मैदान व्यवस्थित गरिँदै
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा घाँसे मैदान व्यवस्थापनको काम सुरु भएको छ । बाह्रसिंगाको प्रमुख बासस्थानका रूपमा रहेको शुक्लाफाँटा घाँसे मैदानको व्यवस्थापनको काम बुधबारबाट सुरु गरिएको हो ।५४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको घाँसे मैदानमा ट्रयाक्टरद्वारा घाँस काटिनेछ ।
उक्त घाँस सुकेपछि आगो लगाइनेछ । आगो लगाइएको क्षेत्रमा घाँस राम्ररी पलाउने छ ।निकुञ्ज प्रशासनले पहिलो चरणमा बाटो बनाउने काम गरेको छ । निकुञ्ज भित्र विभिन्न क्षेत्रमा सफारी बाटो बनाउने काम चलिरहेको प्रमुख संरक्षण अधिकृत किशोर मेहताले बताए । ‘बाटोको घाँस पन्छाउने र वर्षाले बन्द भएको बाटो खुलाउने काम चलिरहेको छ,’ उनले भने, ‘बाटो सफा गर्ने काम लगभग अन्तिम चरणमा पुगेको छ ।’
निकुञ्ज भित्र बन्निखेडा हुँदै बेलडाडी तथा मंगलसेरा हुँदै सिंहपुर जाने र तथा निकुञ्ज प्रवेश द्वार मझगाउँदेखि बटो सफा गरिएको छ । वर्षाले विभिन्न ठाउँमा बिगारेको बाटो तथा काठेपुललगायतको मर्मत पनि गरिएको छ ।
‘घाँसे मैदान व्यवस्थापन भरखर सुरु भएको छ, अब एकरडेढ महिनाजति लाग्छ,’ प्रमुख संरक्षण अधिकृत मेहताले भने, ‘वजेट कम भएका कारण घाँसे मैदान पुरैमा व्यवस्थापन गर्न सकिने अवस्था छैन ।’ उनकाअनुसार संरक्षण क्षेत्रमा कार्यरत संघ संस्थाहरूबाट सहयोग प्राप्त भए त्यसै अनुसार व्यवस्थापन गर्न सकिने बताए ।
घाँसे मैदान व्यवस्थापन गर्न १८ लाखमात्रै वजेट निकासा भएको छ ,जुन गतविगतका वर्षको तुलनामा निकै कम हो । प्रमुख संरक्षण अधिकृत मेहताकाअनुसार गतवर्ष ४० लाख वजेट आएको थियो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार मझगाउँबाट १८ किलोमिटर दक्षिणमा रहेको शुक्लाफाँटा घाँसे मैदान निकुञ्जको प्रमुख आकर्षण हो । यो बाह्रसिंगाको प्रमुख बासस्थान पनि हो । एकै पटक हजारौंको झुन्डमा बाह्रसिंगा सहजै हेर्न पाइन्छ ।
१८ मंसिर २०७८, शनिवार ११:४४ बजे प्रकाशित































