कांग्रेसले तोक्यो प्रदेश संयोजक, सुदूरपश्चिममा बडू
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको मंसिर २४-२६ सम्म काठमाडौंमा हुन लागेको १४ औँ राष्ट्रिय महाधिवेशनका लागि सातै प्रदेशका संयोजक तोकेको छ।कांग्रेस नेता गगन थापाका अनुसार महाधिवेशनका लागि प्रदेशबाट संयोजन गर्न नेताहरुलाई जिम्मेवारी दिइएको हो।
महाधिवेशनमा समन्वयका लागि प्रदेश १ मा कृष्ण सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशमान सिंह र गण्डकी प्रदेशमा संयोजनको जिम्मा गोपालमान श्रेष्ठलाई संयोजकको जिम्मेवारी दिइएको हो।कांग्रेसले लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्र प्रसाद बडूलाई संयोजकको जिम्मेवारी दिएको छ।
‘हामी पहिलो पटक सातवटा प्रदेशको संरचना बनाउँदैछौँ। मंसिर १६ र १७ गते दुई दिन प्रदेश अधिवेशन हुँदैछ’, प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सातवटा प्रदेश अधिवेशन सम्पन्न गर्न आयोजक समिति बनाउने निर्णय भएको छ। त्यही अनुसार नेताहरुलाई तोकेका हौँ।’
महाधिवेशनका लागि आवास तथा भौतिक व्यवस्थापन संयोजकका रूपमा नेता सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिने सहमति पदाधिकारी बैठकले गरेको छ।पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा भएको यो सहमतिलाई सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिरहेको केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने भएको छ।
२८ कात्तिक २०७८, आइतवार १८:०४ बजे प्रकाशित












