टीकापुर पार्कमा घुइँचो
टीकापुर पार्कमा पिकनिकमा रमाउन आउनेको अत्यधिक घुइँचो छ । विभिन्न समूहले तिहारमा देउसीभैली खेलेर रकम संकलन गर्दै रमणीय पार्कको अवलोकन गर्नुका साथै पिकनिकमा रमाउनेहरूले पार्क आजभोली भरिभराउ छ ।
तिहारमा भैली खेलेको रकम जम्मा भएपछि सबै साथीभाइको सल्लाहमा टीकापुर पार्क घुम्न आएको बर्दियाकी अञ्जु चौधरीले सुनाइन् । उनले भनिन्, ‘यो क्षेत्रमा टीकापुर पार्क हेर्न घुम्न लायक पनि भएको र घरबाट नजिकैं पनि भएकाले सबै साथीको सल्लाहमा पार्कमा पिकनिकका लागि आएका हौं ।’
दैनिक करिब ५ हजार जना टीकापुर पार्कमा घुम्नका लागि आउने गरेको टीकापुर पार्कका इन्चार्ज अर्जुन कुँवरले बताए । ‘तिहारपछि यस्तो भीड बढेको हो’ उनले भने, ‘यो महिनाको अन्तसम्म यस्तै भीड रहन्छ होला ।’ पार्कमा विशेषगरी पिकनिकमा खानपिन गर्ने र पार्क घुम्नका लागि पर्यटक आउने गरेका छन् ।
तिहारमा देउसीभैलो खेलेको रकमले युवायुवती पिकनिक खाने र घुम्न आउने गरेका अर्जुनले बताए । पार्कमा घुम्नका लागि दाङ, बाँके, बर्दिया कञ्चनपुरसहित कैलालीका विभिन्न ठाउँबाट पर्यटक पार्कमा आउने गरेका उनले बताए ।
२८ कात्तिक २०७८, आइतवार १३:५० बजे प्रकाशित































