युवक हत्याप्रकरण : प्रदर्शनकारीद्वारा सेनाको गाडीमा ढुंगा प्रहार
कैलालीको लम्कीमा युवकको हत्या भएको विरोधमा दिनभर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले नेपाली सेनाको गाडी तोडफोड गरेका छन् ।तालिमका लागि जुम्लाबाट महेन्द्रनगर जाँदै गरेको सेनाको गाडीमाथि प्रदर्शनकारीले कैलालीको लम्कीमा ढुंगा प्रहार गरी तोडफोड गरेका हुन् ।
स्थानीयका अनुसार प्रदर्शनकारीले सेनाको गाडीमा ढुंगा प्रहार गरी अगाडिको सिसा फुटाएको बताएका छन् ।सेनाले गोली चलाउने आदेश समेत पाइसकेको भएपछि संयमता अपनाएको हुन् ।
यसैबीच प्रहरीले ४ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो भने ३ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
मंगलवार राति खुकुरी प्रहारबाट लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या भएपछि मृतकका आफन्त तथा स्थानीयले बुधवार दिनभर राजमार्ग अवरुद्ध पार्दै प्रदर्शन गरेका छन् ।
प्रहरीले हत्यामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गर्ने र अनुसन्धान भइरहेको बताएपछि अवरुद्ध राजमार्ग खुलाइएको बताएको थियो तर स्थानीय र आफन्तले ढुंगामुढा गरेर राजमार्ग अवरुद्ध पारेको प्रहरीले जनाएको छ ।
२४ कात्तिक २०७८, बुधवार १९:२६ बजे प्रकाशित































