कांग्रेसको बझाङ सभापतिमा बोहरा विजयी
बझाङमा नेपाली कांग्रेसको जिल्ला सभापतिमा खडकबहादुर बोहरा विजयी भएका छन्।शनिबार बिहान सम्पन्न मत गणनाको परिणामअनुसार रमेशबहादुर भण्डारीलाई हराउँदै बोहरा सभापतिमा निर्वाचित भएका हुन्।
निर्वाचन समितिमा सदस्य रहेका नेपाल प्रेस युनियन (बझाङ) का अध्यक्ष रमानन्द जोशीले बोहरा सभापतिमा विजयी भएको पुष्टि गरेका छन्। औपचारिक रूपमा नतिजा सार्वजनिक गर्न भने बाँकी रहेको उनले बताए।‘हामी मत परिणाम टेली गरिरहेका छौं। बोहराले जित्नुभएको छ’, जोशीले भने, ‘केही समयपछि निर्वाचन समितिले आधिकारिक परिणाम घोषणा गर्दै छ।’
जिल्ला सभापतिका पराजित उम्मेदवार भण्डारीको प्यानलबाट सचिवमा झलक कठायतबाहेक सबै उम्मेदवार हारेका छन्।बझाङमा संस्थापन पक्षीय उम्मेदवार प्रतिस्र्धामा थिए।बझाङको नतिजासँगै कांग्रेसले हिमाली क्षेत्रका १३ जिल्लामा जिल्ला अधिवेशन सकेको छ। जसमध्ये ७ जिल्लामा इतर समूह र ६ जिल्लामा संस्थापन पक्षका नेता सभापति बन्न सफल भएका छन्।
२३ असोज २०७८, शनिवार ११:५८ बजे प्रकाशित































