एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपियो
नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ ।गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन ।
तर समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेको थियो ।समूहगत छलफलपछि जवाफ दिनेक्रममा पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहने बताए । अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ ।
विशेष महाधिवेशनमा कोषध्यक्ष राख्नुपर्ने माग पनि उठेको थियो । तर उपमहासचिव पौडेलले यो आवश्यक नपर्ने बताए । कोषध्यक्ष पद राख्दा लोकप्रिय व्यक्ति त चुनिएर आउन सक्ने, चर विषयविज्ञ नहुनसक्ने भन्दै उनले आर्थिक विभाग प्रमुख नै राख्ने परम्परालाई निरन्तरता दिनुपर्ने उनको जोड छ ।
१७ असोज २०७८, आइतवार १५:०९ बजे प्रकाशित































