सकियो नेपाल–भारत संयुक्त सैन्य अभ्यास
भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लामा सञ्चालित नेपाल–भारत संयुक्त सैन्य अभ्यास सकिएको छ।यही असोज ५ गते सुरु गरिएको ‘१५ औं सूर्यकिरण’ संयुक्त सैन्य अभ्यास शनिबार सम्पन्न भएको नेपाली सेनाले जनाएको छ।
त्यस क्रममा दुई देशका सेनाले आतंकवादविरोधी अभियान र विपद् व्यवस्थापन अभियानसम्बन्धी अनुभव आदानप्रदान गरेको बताइएको छ।नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार संयुक्त अभ्यासमा महासेनानीको नेतृत्वमा ३ सय जना नेपाली सेना सहभागी भएका थिए।
दुई देशबीच रक्षा सहयोग र सैन्य सहयोग बढाउने अपेक्षासहित संयुक्त बटालियन स्तरको अभ्यास गरिएको भारतको पिथौरागढ प्रशासनले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ।
१४ दिनसम्म सञ्चालित संयुक्त सैन्य अभ्यासमा दुवै देशका ६५० जना सैनिक तथा सैन्य अधिकारी सहभागी भएका थिए।नेपालले सन् २०११ देखि भारतसँग नेपाल–भारत ‘सूर्यकिरण’ संयुक्त सैनिक अभ्यास गरिरहेको छ।एक वर्षमा नेपाल र भारतमा एक–एकपटक अभ्यास हुने गरेकामा कोरोना महामारीका कारण रोकिएको थियो।
१७ असोज २०७८, आइतवार ०९:२८ बजे प्रकाशित































