१६० किलोमिटर ट्य्राक खुल्यो
४ सय २५ किमि लम्बाइको करिडोरको अहिलेसम्म ४० प्रतिशत पनि काम हुन सकेन
पश्चिम नेपालको तराईलाई दार्चुलाको टिंकर नाकासम्म जोड्ने महाकाली करिडोरको १३ वर्षमा एक ६० किलोमिटर ट्र्याक खोलिएको छ । ४ सय २५ किलोमिटर लम्बाइको करिडोरको अहिलेसम्म ४० प्रतिशत पनि काम हुन सकेको छैन ।
२०६५ मा निर्माण सुरु भएको त्रिदेशीय सीमा जोड्ने यो सडक कञ्चनपुरको बह्मदेवबाट डडेलधुरा, बैतडी र दार्चुलाको सदरमुकाम हुँदै टिंकर नाका भएर चीन जोड्ने योजना थियो । त्रिदेशीय सीमा जोड्ने सामरिक महत्त्वको सडक भए पनि निर्माणको गति हेर्दा सरकारको प्राथमिकतामा नपरेको स्थानीयको आरोप छ । अहिले महाकाली करिडोरअन्तर्गतका चारवटै जिल्लामा निर्माणको काम भइरहेको सडक योजना प्रमुख आशुतोष कर्णले बताए ।
योजना प्रमुख कर्णका अनुसार अहिले महाकाली करिडोरलाई लोकमार्ग निर्धारण गरेको छ । यसको दार्चुला सदरमुकामदेखि माथिको खण्डलाई माथिल्लो र यहाँदेखि कञ्चनपुरसम्मको भागलाई तल्लो खण्ड भनिँदै आएको छ । माथिल्लो खण्डको ८७ किलोमिटर सडकको ट्र्याक खोल्न सेनालाई जिम्मा दिएको छ ।
बाँकी सबै भागमा योजना कार्यालयले काम गरिरहेको छ । सेनाले गरिरहेको छाडेर बाँकी रहेको सडक खण्डमध्ये एक सय ६० किलोमिटरमा ट्र्याक खोलिसकेको र एक सय २४ किलोमिटरमा ठेक्का लागिसकेको उनले जानकारी दिए । लोकमार्गको दार्चुलामा ९०, बैतडीमा ५७ र डडेलधुरामा १३ किलोमिटर सडकको ट्र्याक खोलिएको हो ।
योजना कार्यालयका अनुसार दार्चुला जिल्लामा ४१ किलोमिटर, बैतडीमा ५८ किलोमिटर, डडेलधुरामा १४ र कञ्चनपुरमा ११ किलोमिटर सडकको ट्र्याक खोल्न ठेक्का भइसकेको छ । सेनाबाहेकको अब ५७ किलोमिटर सडकमा ठेक्का खोल्न बाँकी छ । चालु आर्थिक वर्षमा ३५ देखि ४० किलोमिटर सडकको नयाँ ट्र्याक खोलिने तथा ब्याक कटिङ, ग्रेड कटिङ र मर्मतको काम गर्ने योजना रहेको योजना प्रमुख कर्णले बताए ।
यसैबीच निर्माणाधीन महाकाली लोकमार्गमा चालु आर्थिक वर्ष २०७८र७९ मा ६ वटा नयाँ मोटरेबल पुल निर्माण हुने भएका छन् । यो लोकमार्गको डडेलधुरा, बैतडी र दार्चुलामा गरी ६ वटा मोटरेबल पुल निर्माणका लागि यस वर्ष ठेक्का लाग्ने योजना प्रमुख कर्णले जानकारी दिए ।
उनका अनुसार डडेलधुराको घट्टे र ठूलीगाड खोलामा २, बैतडीको नीलगाड र कसानी खोलामा २ र दार्चुलाको कालागाड र कुकुरेगाड खोलामा २ गरी जम्मा ६ वटा मोटरेबल पुल निर्माणका लागि ठेक्का लाग्ने छ । दार्चुलाको व्यास गाउँपालिका–२ कोठेधारबाट टिंकर नाकासम्मको ८७ किलोमिटर सडक निर्माणको जिम्मा सेनाले लिएर काम थालेको हो । लोकमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा एक अर्ब ३ करोड बजेट विनियोजन गरिएको छ ।
जसमध्ये नेपाली सेनालाई २२ करोड ५० लाख रुपैयाँ छुट्याएको छ । आर्थिक वर्ष २०६५र६६ देखि सुरु भएको योजनाले सडक निर्माणमा हालसम्म खासै गति लिन सकेको छैन । व्यासको मुख्य सडक मार्ग निर्माणाधीन दार्चुला–टिंकर सडक सुन्सेरासम्म ट्र्याक खोलिएको छ । अहिले बर्सात्को समयमा सडकको ट्र्याक खोलिए पनि यातायातका साधन चल्न बन्द छन् ।
दार्चुला–टिंकर सडक पनि अलपत्र छ । १२ वर्षअघि शिलान्यास भएको सडकको अहिलेसम्म ४० किलोमिटर ट्र्याक पनि पूरा हुन सकेको छैन । सीमा क्षेत्रका नागरिकको नेपाल–भारत आवागमनलाई सहज बनाउन महाकाली नदीमाथि बन्ने झोलुंगे पुल शिलान्यास भएको ३ वर्षसम्म कुनै प्रगति नहुँदा स्थानीयले सीमा क्षेत्रमा दुःख पाउने गरेको बताउँछन् ।कान्तिपुरबाट
१४ असोज २०७८, बिहीवार १२:५६ बजे प्रकाशित













